३१ साउन,जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले हाल देखिएको सुख्खा र खानेपानीको समस्याको समाधानका लागि प्रदेश सरकारले आफ्ना सम्पूर्ण स्रोत र साधन परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनले संघीय सरकार र विभिन्न दातृ निकायहरूलाई तत्काल सहयोग गर्न आग्रह गरेका छन्।
मंगलबार बिहान सरोकारवाला मन्त्रालयहरू र दातृ निकायहरूसँग छलफल गर्दै मुख्यमन्त्री सिंहले यो समस्या समाधान सामूहिक प्रयासबिना सम्भव नभएको उल्लेख गरे। उनले दातृ निकायहरू सँग तत्कालीन राहत र दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गर्न सुझाव समेत दिए।

“प्रदेशका १३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या देखिएको छ। वातावरणीय असन्तुलनका कारण नागरिकहरू गम्भीर संकटमा परेका छन्,” मुख्यमन्त्री सिंहले भने, “यस्तो समयमा दातृ निकायहरूले खुला मनले सहयोग गर्नुपर्छ।”
मुख्यमन्त्री सिंहले धान रोपाइँमा देखिएको अवरोधले खाद्यान्न संकट निम्त्याउने सम्भावना रहेको भन्दै तत्कालै कार्य अघि बढाउन सरोकारवालाहरुलाई निर्देशन समेत दिए। “कहाँ समस्या देखिन्छ मलाई भन्नुहोस्, तर अब हामी सबै गम्भीर भएर नागरिकलाई समस्याबाट मुक्त गर्न लाग्नु पर्छ,” उनले भने।
सिंहले संघीय सरकारसँग समेत आवश्यक समन्वय भइरहेको जानकारी दिँदै सुख्खा र खानेपानीको समस्या सम्बन्धी कार्यको नियमित अद्यावधिक जानकारी दिन सम्बन्धित निकायलाई निर्देशन दिए।
छलफलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव लगायत विभिन्न दातृ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



















आफ्नो प्रतिकृया दिनुहोस्