जनकपुरधाम, १ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टी स्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोली द्वारा छापा मार्ने क्रममा भएको विवाद घटनाको सत्यतथ्य खोजबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न निर्देशन दिएका छन्।
सो घटनामा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी माथि कुटपिट भएको घटनाप्रति ध्यान दिँदै मुख्यमन्त्री सोनलले सुरक्षा निकायलाई तत्काल सत्यतथ्य अनुसन्धान गरी दोषी माथि कानूनी कारबाही गर्न आदेश दिएका हुन्।
मुख्यमन्त्री सोनलले आज अस्पताल पुगेर घाइते अध्यक्ष भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएपछि प्रदेश प्रहरी प्रमुखसँग सम्पर्क गरी घटनाको विवरण संकलन गरेका थिए। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई आवश्यक कारबाही गर्न निर्देशन दिएका छन्।
शुक्रबार राति सुनचाँदी पसलमा अनुगमनका क्रममा व्यापारीहरू सँग विवाद हुँदा प्रहरी र व्यवसायीबीच झडप भएको थियो, जसमा अध्यक्ष भण्डारी घाइते भएका थिए।दीपावलीको समयमा राति अचानक छापा मार्दै व्यवसायमा हस्तक्षेप गर्नु अन्यायपूर्ण भएको भन्दै प्रतिकार गर्ने क्रममा विवाद बढेर स्थिति तनावपूर्ण बनेको स्थानीय सुनचाँदी व्यवसायी पवन ठाकुरले जानकारी दिए।
प्रहरीका अनुसार, प्राप्त सूचनाका आधारमा अनुगमनका लागि टोली गएको थियो, तर केही व्यापारी आक्रामक बने पछि स्थिति नियन्त्रणमा लिन बाध्य हुनुपरेको बताइएको छ। घाइते अध्यक्ष भण्डारीको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको चिकित्सकहरूले जनाएका छन्।
मुख्यमन्त्री सोनलले घटनालाई गम्भीर रूपमा लिँदै सुरक्षा निकायलाई सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्। साथै उनले व्यापारी तथा सर्वसाधारण नागरिकको कानूनी संरक्षण, शान्ति र सुरक्षाको सुनिश्चितताका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्