जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभामा राजीनामा दिएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिने तयारी भइरहेका बेला उनले सभामै मार्ग प्रशस्त गर्दै पदत्यागको घोषणा गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले सिंहलाई राजीनामा लिखित रूपमा प्रदेश प्रमुख कार्यालयमा बुझाउन निर्देशन दिएका थिए।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने घोषणा गरेकी छन्। यससँगै मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनाउने दौड सुरु भएको छ। पछिल्ला दिनमा मधेश प्रदेशको राजनीतिक माहोल निकै तातेको छ। केन्द्रका ठूला दलका नेताहरू जनकपुरधाम आइपुगेका छन् भने केही आज आउने तयारीमा छन्।
हिजो मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारबाट समर्थन फिर्ता लिएको थियो। यसअघि नै नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले पनि समर्थन फिर्ता लिइसकेका थिए। यता नेपाली कांग्रेसले एमाले र जनमत पार्टीको समर्थनमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने दाबी प्रदेश प्रमुख समक्ष गरिसकेको छ। तर हिजो जनमत पार्टी फुटेर नयाँ दल दर्ता भएपछि राजनीतिक समीकरण फेरिएको छ।
जनमत पार्टीका ६ जना सांसदले मात्र दल छाडे कांग्रेसको सरकार बन्ने सम्भावना कमजोर हुन सक्छ। मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छन्। दलहरूलाई बुधबार अपराह्न ४ बजे सम्म बहुमतका आधारमा सरकार गठनका लागि दाबी पेश गर्न भनिएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा प्रसाद यादवले यसअघि नै एमाले र जनमतसँगको सहकार्यमा आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव पेस गरिसकेका छन्। यदि बुधबार ४ बजे सम्म अन्य कुनै दलले दाबी पेश नगरे कांग्रेसको नेतृत्वमै नयाँ सरकार बन्ने सम्भावना बलियो देखिएको छ।
मुख्यमन्त्री सिंहको राजीनामा सँगै मधेश प्रदेशको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ र सबैको नजर अब बुधबार अपराह्न सम्म केन्द्रित भएको छ, जहाँ कुन दलले बहुमतका साथ नयाँ सरकार गठन गर्छ भन्ने निर्णय हुनेछ।



















आफ्नो प्रतिकृया दिनुहोस्