जनकपुर । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूलाई ‘वन म्यान आर्मी’ ठान्ने प्रवृत्तिका कारण पार्टी फुटाएको बताएका छन्।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा सिंहले अध्यक्ष राउतले जहिले पनि पार्टीभित्र एकलौटी निर्णय गर्ने प्रयास गरेको आरोप लगाए। उनले भने, “डा. राउत आफूलाई भगवान शिव सम्झन्छन् र हामी कार्यकर्ताहरू भस्मासुर बन्न बाध्य भएका छौं।”

सिंहका अनुसार कुनै पनि पार्टी केवल अध्यक्षले मात्र होइन, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूको सामूहिक योगदानले चल्ने हो। तर, राउतले अरू कसैको विचारलाई सम्मान नगरी, आफूलाई मन लागेको मात्र गर्ने गरेको उनको आरोप छ।
पूर्व मुख्यमन्त्री सिंहले जनमत पार्टी अध्यक्ष राउतले गठबन्धनमा रहँदै पनि गठबन्धनका अन्य दलहरू माथि अनावश्यक टिप्पणी गर्ने गरेको समेत बताए।उनले नयाँ बनेको मधेश प्रदेश सरकारलाई संघीयता सुदृढ पार्न आग्रह गर्दै भने, “संघीयता मधेश र मधेशवासीका लागि अपरिहार्य छ, त्यसलाई जोगाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्छ।”

जेनजी आन्दोलनपछि क्षतिग्रस्त भएका सरकारी संरचना र सामग्रीहरूको यकिन विवरण तयार गर्न उनले नयाँ सरकारलाई सुझाव दिए। “बाँकी रहेका सामानहरू पनि कसैले लगे र पछि ‘जेनजी आन्दोलनमा नष्ट भयो’ भनेर गलत सूचना नफैलियोस्,” उनले भने।
पूर्व मुख्यमन्त्री सिंह हाल जनमत पार्टी फुटाएर गठन गरिएको जनस्वराज पार्टीमा गएका छन्। आजै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्, जस सँगै सिंहको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्