१२ फागुन,जनकपुर: बलिउडका चर्चित गायक अरिजित सिंहले प्लेब्याक गायनबाट सन्यास लिने घोषणा गरे पछि संगीत क्षेत्रमा आएको तरंग साम्य हुन नपाउँदै सुपरस्टार आमिर खानले उनलाई आफ्नो निर्णय फिर्ता लिन भावुक आग्रह गरेका छन्।
गत महिना अरिजितले सामाजिक सञ्जाल मार्फत अबदेखि नयाँ प्लेब्याक असाइनमेन्ट नलिने भन्दै आफ्नो सांगीतिक यात्राको यो अध्याय अन्त्य भएको संकेत दिएका थिए। सोही घोषणाको पृष्ठभूमिमा आमिर खान स्वयं अरिजितको गृहजिल्ला मुर्शिदाबाद पुगेर उनलाई भेटेको खबर सार्वजनिक भएको छ।
आमिरका छोरा जुनैद खानको डेब्यु फिल्म ‘एक दिन’ को शीर्ष गीत निर्माणको क्रममा बाहिरिएको ‘बिहाइन्ड द सिन्स’ भिडियोले दुई हस्ती बीचको आत्मीयतालाई प्रस्ट पारेको छ। भिडियोमा आमिरले अरिजितको परिवारसँग समय बिताएको, सँगै खाना खाएको र चङ्गा उडाएको दृश्यहरू देखिन्छन्। सोही भेटका क्रममा आमिरले अरिजितलाई सम्झाउँदै केही समयको विश्राम लिनु स्वाभाविक भए पनि हिन्दी फिल्मका लागि गाउँदै नगाउने निर्णय नगर्न अनुरोध गरेका हुन्। आमिरले भावुक हुँदै भनेका छन्, “तिमीले नगाए हाम्रो के हुन्छ भाइ?”
यस अघि जनवरीमा इन्स्टाग्राम मार्फत नयाँ वर्षको शुभकामना दिँदै अरिजितले आफ्ना श्रोताहरूलाई धन्यवाद दिएर अब देखि प्लेब्याक भोकलका रूपमा काम नगर्ने घोषणा गरेका थिए। उनको यो निर्णयले विश्वभरका प्रशंसकहरूलाई निराश बनाएको बेला आमिर खान जस्तो दिग्गज अभिनेताको व्यक्तिगत पहल र आग्रहले अरिजितलाई आफ्नो निर्णय पुनर्विचार गर्न दबाब पुगेको छ। आमिरको यो अनुरोध पछि अरिजित पुन: माइक समातेर फिल्मका लागि गाउन तयार हुनेछन् या छैनन् भन्ने विषय अहिले बलिउडमा निकै चर्चाको विषय बनेको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्