काठमाडौं : कलाकार करिष्मा मानन्धरले सामाजिक सञ्जाल र मिडियाबाट डिजिटल रुपमा गरिने हिंसा रोक्न स्वनियमन मात्र पर्याप्त नहुने भएकाले कानून बनाएर नै नियमन गर्नुपर्ने बताएकी छिन् ।बिहिबार ललितपुरमा आयोजित ‘डिजिटल हिंसा सम्बोधन गर्न, आवश्यक नीति, चुनौति र समाधानहरू’ विषयक अन्तरक्रियामा उनले आफू सामाजिक सञ्जाल र मिडियाकर्मीबाटै हिंसामा परेको बताइन् ।
सामाजिक सञ्जाललाई आजको परिवेशमा महत्वपूर्ण साधनको रुपमा प्रयोग गरिने भएकाले आफूले पनि विवेकपूर्ण रुपमा चलाउँदै आएको उल्लेख गर्दै अभिनेत्री मानन्धरले नियतवस आफूमाथि मिडिया र सोसल मिडियामा प्रहार/हिंसा भएको अनुभव सुनाइन् ।
‘सामाजिक सञ्जाल चलाउने क्रममा हामी दिनदिनै सचेत हुँदै गइरहेका छौँ । त्यो हुँदाहुँदै पनि अरुद्वारा तपाइँलाई हिंसा हुन्छ, किनभने तपाइँलाई अरुको दिमागमा के चलिरहेको छ र कुन इन्टेन्सनले तपाइँलाई प्रहार गरिरहेको छ थाहा हुँदैन । त्यही सिलसिलामा म एक पकट प्रेस काउन्सिलमा पनि पुगेकी छु । मिडियाले यस्तो प्रकारको पोट्रेट गरिदिन्छ कि तिमी त भिलेन हौ ?’ उनले थपिन, ‘आपत्ति हुन्छ नि आखिर मान्छे हो, मान्छेको मानसिकता कस्तो भएर जान्छ, त्यसमाथि हाम्रो दैनिक रुटिन त छँदै छ । काम घरपरिवार बाहेक यो चिजलाई (हिंसा) पनि सहनु परिरहेको छ ।’
आफू सामाजिक सञ्जालमा मिडियाकर्मीबाटै डिजिटल हिंसामा परेको र त्यसको कानूनी उपचारमा जाँदा सहज रुपमा नपाएको अनुभव सुनाउँदै कलाकार मानन्धरले भनिन्, ‘कोही पनि आइदिन्छ, अनि भन्दिन्छ कि तिम्रो जीवनमा केके भएको थियो, केके भएको थिएन ? ठिक छ वाक स्वतन्त्रता छ, भन्न र आफ्नो धारणा राख्न पाइयो तर, तपाइँको चरित्र के हो, स्टोरी नै बनाएर त भन्दिन भएन नि ।’कार्यक्रममा सामाजिक सञ्जाल तथा मिडियाको नाममा सञ्चारकर्मीले गर्ने वैयक्तिक अधिकारको हननलाई समेत सम्बोधन गर्नेगरी कानुन ल्याउन जरुरी भएको धारणा उनले राखिन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्