६ जेठ,रामेछाप, (मन्थली नगरपालिका–९): स्थानापति माध्यमिक विद्यालय, बाङ्गेसल्लामा पठनपाठन भइरहेकै समयमा जन-प्रतिनिधिहरूको उपस्थितिमा विद्यालयमा तालाबन्दी गरिएको छ।
सोमबार जिल्ला समन्वय समिति रामेछापकी सदस्य हिरा कुमारी गिरी, वडा सदस्य धनलाल तामाङ लगायतको सहभागितामा बसेको बैठकले विद्यालयमा तालाबन्दी गर्ने निर्णय लिएको हो। बैठक विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै आहूत गरिएको थियो।
बैठक विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धन बहादुर तामाङको अध्यक्षतामा बसेको थियो। उनीहरूले गत पुस १५ गते सम्पन्न निर्वाचन बाट व्यवस्थापन समितिका सदस्यहरू निर्वाचित भइसकेको भए पनि कानुन अनुसार मनोनयन गर्नु पर्ने सदस्यहरूको चयन नगरी अध्यक्ष नचुनिएको भन्दै आपत्ति जनाएका छन्।
ज्येष्ठ सदस्य तामाङले व्यवस्थापन समितिको बैठक राख्न विद्यालय प्रशासन लाई पटक–पटक आग्रह गरे पनि अटेर गरिएको आरोप सहित तालाबन्दी गरिएको निर्णयमा उल्लेख छ।
तालाबन्दीको क्रममा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा बाट निकालिएको र त्यसले पठन-पाठन अवरुद्ध भएको भन्दै विद्यालयका प्रधानाध्यापक शम्भु मण्डलले घटनामा संलग्न व्यक्तिहरू लाई कारवाही गर्न माग गर्दै सोमबार नै जिल्ला प्रशासन कार्यालय, रामेछापमा निवेदन दर्ता गराएका छन्।
जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम कृष्ण थापाले मंगलबार दुवै पक्ष लाई छलफलका लागि बोलाइएको जानकारी दिएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्