३ असार,रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीका लागि काठमाडौं पुगेका छन् ।
राजपुर बमकाण्डमा नेपाली कांग्रेस नेता तथा पूर्व-सांसद मोहम्मद आफताब आलम सहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिए पछि न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै न्याय परिषदमा निवेदन दर्ता समेत गराएका छन् ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसी प्रसाद थारु र अर्जुन महर्जनको इजलासले सफाइ दिए पछि असन्तुष्ट बनेका सिंहले मंगलवार न्याय परिषद्मामा निवेदन दर्ता गराएका हुन् ।
न्याय परिषदमा दर्ता गराएको निवेदनमा न्यायाधीशद्वयले बदनीयतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाइएको छ । न्यायाधीशद्वय लाई निलम्बन गरी छानबिन गर्न र न्याय परिषद् ऐन तथा संविधान बमोजिम कारबाही गर्न उनले माग गरेका छन् ।
भारतको सीतामढीमा अध्ययनरत २२ वर्षका छोरा त्रिलोक प्रताप सिंह राजपुर बमकाण्डमा मारिएको र आफू सास रहुन्जेल न्यायका लागि लडिरहने बाबु श्री नारायणले बताए ।
०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरु लाई जिउँदै इँटा भटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलम सहित लाई ०८१ वैशाख १४ गते जन्म कैदको फैसला गरेको थियो ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले आलम सहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्री सहनी लाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
पाँच बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसला संगै रिहाई भए पछि अहिले आलम परिवारिक भेटघाटमा ब्यस्त छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्