८ असार, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाका पूर्व-अध्यक्ष अरुण कुमार साह सहित चार जनालाई पक्राउ पुर्जी जारी भएको छ ।जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोपमा पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पक्राउ पुर्जी अनुमति दिएको हो ।
गाउँपालिकाका पूर्व-अध्यक्ष साह, नापी कार्यालय डिल्लीबजार काठमाडौका नापी अधिकृत सञ्जय साह, काठमाडौँ नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र उनका छोरा धिरज श्रेष्ठ लाई अदालतले ज्येष्ठ १३ गते इलाका प्रहरी कार्यालय गरुडा लाई पक्राउ पुर्जी अनुमति दिएको छ ।
‘पूर्व-पालिका अध्यक्ष साह सहितलाई पक्राउ गरेर अनुसन्धान गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको छ, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने,’मुख्य अभियुक्त सँगै पूर्व-अध्यक्ष साह लाई पनि प्रहरीले पक्राउको तयारी गरेको छ।’ जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोप पूर्व-अध्यक्ष साह लाई लागेको उनले जानकारी दिए ।
सर्लाहीको हरिपुर वडा नं. ७ मा रहेको जग्गा खरिद गर्न बापत गरुडा ६ पोठियाहीका सन्तोष कुमार चौधरीले विभिन्न चरणमा १ करोड ४३ लाख रकम नगद र चेक मार्फत रकम दिए पनि जग्गा पास नगराएर आलटाल गर्दै आएको भन्दै उनिहरु विरुद्धमा ठगी मुद्दा दायर गरेका थिए ।
हरिपुरको कितानम्बर ७७३ को ११ कटठा १४ धुर जमिन खरिद गर्दा नापी अधिकृत साहको नाममा रजिस्ट्रेसन पास गरे पनि उनले ०८०/०८१ मा चौधरीलाई थाहा नदिकन सो जमिन चार कित्ता बनाई चार जनालाई बिक्री गरेर ठगी गरेको आरोप लागेको छ ।
जग्गा खरिद विक्रीमा अनुसन्धानका लागि अदालत बाट पक्राउ पुर्जी जारी भैसकेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्