३१ साउन,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका छन्। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकाे सन्देशमा गुप्ताले आफूमाथि लागेको घुस सम्बन्धी अडिओ प्रकरणको निष्पक्ष अनुसन्धानमा सघाउन आफूले पद त्यागेको जनाएका छन्।
उनले लेखेका छन्, “कहिले काहीं नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको शिकार भए।” पछिल्ला केही दिन देखि आफ्नो नाम घुस लेनदेनको आरोपमा जोडिएको भन्दै उनले यस्ता आरोपको सत्य-तथ्य बाहिर ल्याउन अनुसन्धान सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन्।
गुप्ताले प्रविधिको दुरुपयोगले कसैलाई नफसाओस् भन्ने अपेक्षा व्यक्त गर्दै विगतमा साथ दिएका सबैलाई धन्यवाद दिएका छन्। साथै, पार्टी प्रति प्रतिबद्धता व्यक्त गर्दै अब फेरि जनताको घरदैलोमा पुग्ने अठोट समेत दोहोर्याएका छन्।
उनको राजीनामा पछिल्लो अडिओ प्रकरणसँग प्रत्यक्ष जोडिएको देखिएको छ, जसमा उनी घुस लेनदेनमा संलग्न रहेको आशंका गरिएको छ। यद्यपि, उक्त अडिओको सत्यता पुष्टि हुन बाँकी नै छ।



















आफ्नो प्रतिकृया दिनुहोस्