बीरगंज। खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साह प्रकरणमा नगर प्रमुख सिंहले असत्य जानकारी दिएको प्रमाण खुलेको छ।
नगर प्रमुख सिंहले सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा किरणका परिवारका कोही पनि सदस्य अस्पतालमा भर्ना नभएको दाबी गरेका थिए। तर, वास्तविकतामा भने किरणकी बहिनी संजा कुमारी साहका दुई सन्तान भदौ ११ गतेदेखि बीरगंज स्थित नेशनल मेडिकल कलेज (एनएमसी) अस्पतालमा उपचाररत रहेका प्रमाण फेला परेको छ।
परिवारका अनुसार, २ वर्षीया कृतीका साह झाडापखालाको गम्भीर समस्या भए पछि एनएमसीको आइसियुमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनलाई हाल आइसोलेशन वार्डमा राखिएको छ। त्यस्तै, ३ वर्षीय छोरा आर्यन साह खुट्टा भाँचिएको र झाडापखालाको समस्या देखिए पछि सोही अस्पतालमा भर्ना गरिएको हो।
किरणका बहिनी ज्वाइँ शिव साहका अनुसार, छोरा–छोरीलाई उपचारका लागि बाराको निजगढबाट बीरगंज ल्याएको र किरण बस्ने मुर्ली स्थित डेरामा बस्दा धाराको पानी सेवन गरेपछि उनीहरू गम्भीर बिरामी बनेका थिए।
यस्तै, किरण साहका ७३ वर्षीय पिता तुल्सी साह र आमा सावित्री साह पनि त्यस क्रममा बिरामी परेका थिए। उनीहरूलाई वीरगन्जको एड्भान्स अस्पतालमा उपचार गराइए पछि अहिले घरमा ल्याइएको छ।
किरणमाथि लगाइएको आरोप
शिव साहका भनाइमा, आफ्ना परिवारको स्वास्थ्य अवस्था नाजुक भएपछि किरणले खानेपानी वितरणमा लापरबाही भएको भन्दै मन्त्री र मेयरलाई फोन गरेर प्रश्न मात्र गरेकी थिइन्। तर, प्रश्नलाई धम्कीको रूपमा व्याख्या गरेर उनलाई भदौ १४ गते प्रहरीले पक्राउ गरेको हो।
उनले भने, “नागरिकलाई दिइने खानेपानीको गुणस्तर परीक्षण नगरी जीवनसँग खेलवाड गर्नेहरू विरुद्ध कारबाही गर्नु पर्ने हो। तर, जवाफदेहिताको खोजी गर्ने किरणलाई थुनामा राख्नु अन्यायपूर्ण छ।”
सामाजिक सञ्जालमा अपमान
किरणका परिवारले थप आरोप लगाउँदै भनेका छन्– “मन्त्री र मेयरलाई झर्केर प्रश्न गर्दा किरण माथि मुद्दा चलाइन्छ तर उनीहरूका समर्थकहरूले सामाजिक सञ्जालमा गरेको दैनिक मानमर्दनबारे राज्य मौन छ।”
किरण साहको पृष्ठभूमि
बारा, कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुरकी २२ वर्षीया किरण साह आठ कक्षा मात्र पढेकी हुन्। तर, संगीत क्षेत्रमा सक्रिय हुँदै उनी आफ्ना वृद्ध आमाबुबाको हेरचाह र भरणपोषण गर्दै आएकी थिइन्। उनका दुई दाजु भए पनि हेरचाह नगरेपछि सम्पूर्ण जिम्मेवारी किरणले बोकेको परिवारले जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्