२९आश्विन,विराटनगर : विराटनगर महानगरपालिकाले डेंगू रोग नियन्त्रण र रोकथामका लागि तयारी सुरु गरेको छ । डेंगूको संक्रमण हरेक दिन बढ्दै गएपछि महानगरले नियन्त्रण र रोकथामका लागि पूर्व तयारी सुरु गरेको हो । आज स्वास्थ्यकर्मीहरुका लागि डेंगू रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण सञ्चालन गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोर्डिनेटर डा. सुरेन्द्र उरावले डेंगूको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिका लगायतका विषयमा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुभएको थियो ।
उहाँले भदौ यता डेंगूको संक्रमण तीव्र गतिमा फैलिँदै गएको बताउनुभयो । उहाँले टायर, जार, नालीलगायतमा डेंगूको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगूको संक्रमणबाट बच्न सकिने उहाँको भनाइ थियो । डाक्टर उरावले नेपालमा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्त्ति संक्रमित भएको उल्लेख गर्नुभयो ।
पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीलाई डेंगू रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । अलीका अनुसार दोस्रो चरणमा आइतबार नै जनप्रतिनिधि, नागरिक समाजका अगुवा सहित सबै क्षेत्रका व्यक्त्तिसँग डेंगूको नियन्त्रण र रोकथामका विषयमा छलफल गरिनेछ ।(रासस)
आफ्नो प्रतिकृया दिनुहोस्