२३ जेठ,सर्लाही :सर्लाहीमा मिटरब्याजी विरुद्ध परेका एक हजार नौ सय २० उजुरी मध्ये सबैभन्दा धेरै मलंगवा नगरपालिकाबाट परेका छन् भने सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन् । अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरे पश्चात् जिल्ला भरबाट एक हजार नौ सय २० वटा उजुरी परेकामा मलंगवा नगरपालिकाबाट मात्रै चार सय ५८ वटा उजुरी परेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।
उहाँका अनुसार ईश्वरपुर नगरपालिकाबाट एक सय ३१, बरहथवा नगरपालिकाबाट एक सय २८, कविलासी नगरपालिकाबाट एक सय ६०, हरिपुर नगरपालिकाबाट एक सय ५१, ब्रह्मपुरी गाउँपालिकाबाट एक सय ४८ वटा उजुरी परेका छन् । बीस स्थानीय तह रहेको सर्लाहीमा ईश्वरपुर, बरहथवा, मलङ्गवा, कविलासी, हरिपुर, ब्रह्मपुरी गरी छवटा पालिकाबाट मात्रै ६० प्रतिशत भन्दा बढी उजुरी परेको प्र.जि.अ. यादवले बताउनु भयो ।
यस्तै हरिपुर्वा नगरपालिकाबाट ९०, बलरा नगरपालिकाबाट ८४, चन्द्रनगर गाउँपालिकाबाट ६८, लालबन्दी नगरपालिकाबाट ६७, गोडैता नगरपालिकाबाट ४९ र कौडेना गाउँपालिकाबाट ४७ उजुरी परेका छन् भने चक्रघट्टा गाउँपालिकाबाट ३७, धनकौल गाउँपालिकाबाट ३६, बसबरिया गाउँपालिकाबाट ३३, पर्सा गाउँपालिकाबाट ३२, विष्णु गाउँपालिकाबाट २३ र रामनगर गाउँपालिकाबाट पनि २३ उजुरी परेका छन् ।
जिल्लाभरमा सबैभन्दा कम बागमती नगरपालिकाबाट पाँचवटा मात्रै उजुरी परेका छन् । उक्त कार्यालयले जेठ १४ गतेसम्म जिल्लाभरका मिटरब्याज पीडितहरुसँग उजुरी लिएको थियो । पीडितहरुले दिएका उजुरी पालिकागतरूपमा छुट्याउने काम पूरा गरिएको सहायक प्र.जि.अ. होमप्रसाद घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार मिटरब्याज साहुको विवरण समेत ‘एक्सल सिट’मा इन्ट्री गरेर राखिएको छ ।
एक हजार नौ सय २० पीडितका उजुरी अब सम्बन्धित पालिकामै पठाएर त्यहाँ मिटरब्याजी विरुद्ध उजुरी सहित सम्बद्ध पक्षा तथा जनप्रतिनिधिको रोहवरमा पहिलो चरणमा छलफल गराई पालिकाबाटै समस्या समाधान गर्ने प्रयास गरिने सहायक प्र.जि.अ. घिमिरेले बताउनु भयो । उहाँका अनुसार लिएको ऋणभन्दा दोब्बर/तेब्बर बढीको कागज बनाएर मिटरब्याजी साहुले घरजग्गा नै लिलाम गरी उठिबासकै स्थिति सृजना गराएपछि जिल्लाका मिटरब्याज पीडितले पटकपटक र चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।
अहिले आयोग नै गठन गरेर छानबिनको प्रक्रिया अघि बढ्दा न्याय पाउने आश पलाएको हरिवन नगरपालिका– २ का मिटरब्याज पीडित रामपुकार महतोले बताउनुभयो । उहाँका अनुसार आफूहरुले पटकपटक चरणबद्ध आन्दोलन गरेपछि राज्यको केही भए पनि ध्यान मिटरब्याजी पीडिततर्फ गएको छ ।(रासस)




















आफ्नो प्रतिकृया दिनुहोस्