धनुषा : धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पाँच वर्षीया बालिकाको जबर्जस्ती करणी गरी घाँटी थिचेर मारेको सतोखर पोखरी नजिक खाल्डोमा नग्न अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिनुभयो ।
बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उहाँले बताउनु भयो । बुधबार राति करिब ९ बजे गाउँकै कुनै छिमेकीको मटकोरमा गएकी बालिका अबेर राति सम्म घर नफर्के पछि बालिकाका अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।
बालिका हराएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति सबैला–९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिनुभयो ।
अनुसन्धानका क्रममा घटनामा संलग्न दुईजना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई बलात्कारपश्चात घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनाको नाम प्रहरीले गोप्य राखे पनि उनीहरू क्रमश: ३६ र २५ वर्षका स्थानीय युवक रहेको बताइएको छ ।
उनीहरूमाथि जबर्जस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्