झापा : अविरल बर्षा पछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खास गरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ ।बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुले बताएका छन् ।

मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुवान भएको छ । कच्ची घरमा पाँच फिट सम्म डुवान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन् । बिजुलीको दुईवटा पोलले कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठको घरमा क्षति पुर्याएको छ ।
बिजुलीको पोल ढल्दा त्यहाँ लगाएको पाँच वटा सीसी क्यामेरामा क्षति पुगेको छ भने त्यस स्थानमा विद्युत र इन्टरनेट सेवा समेत अवरुद्ध भएको स्थानीयहरुले जानकारी दिएका छन् ।यसैगरी अर्जुनधारा–१ खुदुनाबारीमा बाढीले खानेपानीमा क्षति पुर्याएको छ ।

सोही स्थानको राते भन्ने ठाउँमा बाढी बस्तीमा पस्दा १० घर डुवानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाका सहभाति लोकराज ढकालले जानकारी दिए । यस्तै अर्जुनधाराकै सुखानी खोलामा रहेको कज्वे बाढीले बगाउँदा मदन भण्डारी राजमार्गमा यातायात अवरुद्ध भएको ढकालले बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्