दशैंका लागि यातायातको टिकट बुकिङ धमाधम भइरहेको छ । तर बुकिङ खुले लगत्तै आएको अविरल बर्षाका कारण दर्जनौं राजमार्ग एवम सडकहरु अवरुद्ध भएका छन् । पुलहरु बाढीले बगाएको छ । तर तत्कालै सबै सडकहरु पूर्ण रुपले संचालनमा आउन सक्ने अवस्था देखिदैन । यस्तो संवेदनशिल परिस्थितिमा यातायात व्यवसायीहरुले कस्तो भूमिका निर्वाह गर्छन र गाडी व्यवस्थापन गरी सहज रुपमा यात्रुहरुलाई कसरी गन्तब्यमा पुर्याउँछन् भन्ने विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर सँग कुराकानी भएको छ ।
१) चाडपर्व नजिकिएको छ, टिकटको व्यवस्थापन एवम यात्रुहरुको सहजीकरणका लागि के गरि रहनु भएको छ ?
चाडवाडको बेला विगतको भन्दा अलि फरक तरिकाबाट अघि बढौं भन्ने प्रयास थियो । त्यसका लागि नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सँग बसेर सात बुँदे निर्णय पनि गरेका छौं । विभागमा बसेर असोज १२ गते बाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेका हौं । तर, मिडियाहरुमा महासंघले अग्रिम टिकट बुकिङमा ढिलाई गरेको भन्दै समाचारहरु आइरहेका थिए ।
टिकट वितरण गर्नु लाई मात्र महत्वका साथ हेरेका थिएनौं । त्यस माथि पनि मौसम विद्हरुले मौसम पूर्वानुमान गरेकै थिए । दुई तीन दिन लगातार वर्षा भइरहन्छ भन्ने कुरा नै थियो । यस्तो समयमा सडक व्यवस्थापन कसरी गर्ने भन्ने विषय महत्वपुर्ण थियो । अहिले हामी अन्तरवार्ता गर्दै गर्दा सवारी साध ननचलेको तीन दिन भयो । उपत्यका बाट बाहिर जाने वा भित्रिने कुनै पनि नाका पूर्ण रुपमा सञ्चालन भइसकेका छैनन् ।
गाडी बुक गरेर गाडी उपलब्ध भयो भने बुकिङको कुनै अर्थ नै रहेन ।यस विषयमा चुनौति बढेको महसुस भएको छ ।सरकार सँग कुरा पनि गरेका थियौं । घटस्थापना सम्म सडकका खाल्डा खुल्डी पुर्ने, सडक लाई राम्रो बनाउने भन्ने कुराहरु भएको थियो । तर अविरल वर्षाले सही भएका सडकहरु समेत बगाएको अवस्था छ ।
पुल-पुलेसा बगाएको अवस्था छ । अब सरकार सँग बसेर अगाडि कसरी बढ्ने भन्ने विषयमा संवाद हुन्छ, छिटो भन्दा छिटो सडकहरु कसरी सुचारु हुन सक्छन् भनेर सरकार र सडक विभाग सँग समन्वय र सहकार्य गर्ने छौं । धेरै दुःखद घटनाहरु घटेका छन् ति घटनाहरु घाइते भएका हरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
२) बाढी पहिरोले जताततै सडक अवरुद्ध छन् । काठमाडौं जोड्ने प्राय सडकहरु एकतर्फी मात्र चलेका छन् । यसमा व्यवसायीले ठूलो क्षति व्यहोरेका छन् । महासंघले यस सम्बन्धमा के गर्दैछ ?
गृहका प्रवक्ता सँग कुरा भएको छ ।बाटोमा अलपत्र परेका यात्रुहरुलाई पानी र खानाको व्यवस्थापन गर्न र वीपी राजमार्ग खुलाउने विषयमापनि छलफल भएको छ । सरकारले सर्वदलीय बैठक बाट पनि केही निर्णयहरु गरेको छ । अब गृह मन्त्रालयले नीजि क्षेत्रहरुको पनि बैठक डाकेर सडक खुलाउने विषयमा छलफल गर्ला ।
प्राकृतिक प्रकोप बाट सृजित पीडाको बेलामा सरोकार वाला सबै एक ठाउँमा आएर राष्ट्रिय शोकका बेला थप दुःखद घटनाहरुलाई न्यूनीकरण गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं । अहिले पनि महासंघका तर्फ बाट विज्ञप्ति जारी गर्ने देखि लिएर अन्यहरु सँग पनि सहकार्य गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छौं । चाँडै नै यो प्राकृतिक प्रकोपले निम्त्याएको क्षति बाट निस्कन सकिन्छ भन्ने आश गरौं ।
३) असोज १२ गते देखि अग्रिम बुकिङ खुला गर्नु भयो । भौतिक रुपमा र अनलाइन मार्फत टिकट बुक गरेका तर गन्तव्य सम्म पुग्नन सकेको यात्रुहरुको लागि अब के गर्नु हुन्छ ?अहिले सम्म कतिले बुकिङ गरे ?
राजमार्ग सुचारु नहुञ्जेल केही भन्ने अवस्था छैन । बुकिङमा रहनु भएका यात्रुहरु लाई समेत यात्रा गर्नु भन्दा एक दिन पहिले सम्पर्क गरेर बाटोको स्थिति बारे बुझ्न आग्रह गर्नु भनेका छौं । बाहिर बाट सवारी साधन उपत्यका आइपुगे पछि मात्र गाडी सञ्चालन गर्न सक्छौं । अहिले नियमित रुपमै चल्ने लामो दुरीका गाडी समेत दुई दिन देखि ठप्प छन् । अब विस्तारै चाप बढ्दै जान्छ ।यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा अनुमान मात्र गरेर भएन ।
यस विषयमा सरकारी संयन्त्र सँग छलफल गर्नु पर्ने देखिन्छ । बुकिङ खुलाएको पहिलो दिन यात्रुहरुको जस्तो भीड थियो, आज त्यस्तो छैन । बाटो नखुलिकन बुकिङ मात्र गरेर भएन । जब राजमार्ग सुचारु हुन आउँछ । त्यस पछि टिकटको विषय सहजीकरण गर्दै जाने छौं । अहिले सम्मक तिजनाले टिकट बुक गरे भन्ने यकिन तथ्यांक उपलब्ध छैन । धेरै ठाउँहरु बाट टिकट बुक भइरहेको छ । सबै भन्दा बढी सुदूरपश्चिम तिरको टिकट बुकिङ भयो भन्ने कुरा आएको छ । बुटबल जाने यात्रुको समेत भीड देखिएको छ ।
४) तर, चाडपर्वको समयमा व्यवसायी हरुले टिकट लुकाउने, कालो बजारी गर्ने जस्ता गुनासाहरु पनि आइरहेका छन् । यसमा महासंघले के गरिरहेको छ ?
यस्तो गुनासो र आरोप विगत देखि नै लाग्ने गरेको छ । यसमा प्रहरी, ट्राफिक प्रहरी र सरकार सँग बसेर उपत्यकामा हेल्प डेस्क स्थापना गर्ने भनेका छौं । भाडादर त सरकारले तोकेको भन्दा बढी लिने कुरा पनि भएन । सरकारले तोकेको अधिकतम मूल्य भन्दा बढी नलिन यातायात व्यवसायीहरु लाई निर्देशन नै दिइ रहेका छौं । अनि टिकट काट्ने यात्रु लाई समेत पोसाक लगाएका र गलामा परिचय पत्र राखेका आधिकारिक मान्छे सँग मात्र टिकट काटि दिन हुन अनुरोध गर्दछौं ।
टिकटमा अनिवार्य रुपमा भाडादर उल्लेख गर्न लगाउन भनेका छौं । त्यसो गर्न सकियो भने सरकारले तोकेको भन्दा बढी भाडा दर लियो भने कारबाहीको घेरा भित्र आइहाल्ने हुन्छ ।यसमा सबै सचेत हुनु पर्छ । तर अहिले यात्रुहरु सचेत हुँदा पहिलेको भन्दा यात्रुहरु ठगिने क्रम कम हुँदै गइरहेको छ । यसका अलवा गाडीहरुमा अनुगमन गर्ने गरेका छौं । बिक्रेता संघ सँग समेत यस बारेमा कुराकानी गरिरहेका छौं । गाडी बिग्रिन नदिनका लागि बाटोमा समेत प्राविधिकहरु खटाउनका लागि पनि अनुरोध गरेका छौं । यी सबै गरेर नागरिकको सुरक्षित यात्राका लागि प्रतिबद्ध छौं ।
५) पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरु बढीरहेका छन् । चाडवाडका बेला क्षमता भन्दा बढी यात्रु राख्ने, सडकमा चलाउन अयोग्य सवारी चलाउने र चालकको लापरवाही प्रमुख कारण भनिन्छ नि ?
तपाईले भनेको सत्य हो । यसरी हुने दुर्घटना न्यूनीकरणका लागि विगत देखि नै काम गरिरहेका छौं । गतवर्ष पनि राजमार्गका विभिन्न ठाउँमा विश्राम स्थल राखेर त्यसलाई चेक जाँच गराउने, केही देखिए कारबाही गर्ने काम पनि गर्दै आइ रहेका हौं । त्यस कारण सार्वजनिक यातायात गत वर्ष चाडवाडको बेला दुर्घटना भएन ।
केही साना सवारी दुर्घटनामा परेपनि सार्वजनिक यातायात कहीं पनि दुर्घटनामा परेन । त्यस कारण पोहोर भन्दा अझ राम्रो तयारी गरेर अगाडि बढ्ने सोचेका छौं । यो मौसमका कारण आएको प्रतिकुलतामा कतिको सहज यात्रा दिलाउन सकिन्छ त्यो बारेमा त हामी छलफल गर्ने नै छौं ।
६) बाढी र पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन ढिलाइ भएर दशैं मनाउन घर जान नपाइने पो हो कि भन्ने आम जनमानसमा छ । सडक तत्काल खुलाउन सरकारले के गर्नु पर्दछ जस्तो लाग्छ ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सँग बसेर जसरी पनि घटस्थापना सम्म सडकलाई स्मुथ बनाउने र त्यस पछि धमाधम यात्रुलाई सहज सेवा दिने भन्न थियो । त्यो सम्भावना अब रहेन । पहिरो खुलाए पछि पनि ढुक्कले यात्रा गरि हाल्नु पर्नेअवस्था छैन । अझै घाम लागे पछि सुक्खा पहिरो त जान्छ जान्छ । तर, सरकारको संयन्त्र र सडकमा काम गरि रहेकाहरु सँग भएको स्रोत र साधनलाई पुरै परिचालन हुने गरेर रातदिन नभनी दशैंभरी परिचालन गर्नु पर्ने स्थिति छ ।
७) समग्रमा नेपालमा सडक यातायात त्यति सुरक्षित मानिदैन । वर्षनी सडक दुर्घटनामा मात्रै हजारौं जनाले ज्यान गुमाइ रहेका हुन्छन् । सडक दुर्घटना न्यूनीकरणका लागि सरकारको नीति कस्तो हुनु पर्दछ ?अन्य सरोकारवाला निकायहरुले के भूमिका खेल्नु पर्दछ ?
यो गम्भीर र गहिरो प्रश्नहो ।साच्चै नै सडकहरु बेहाल अवस्थामा छन् । पहिले चालकलाई दोष दिएर सबै निकायहरु पन्छिने अवस्था थियो, अहिले त्यस्तो छैन । अहिले दुर्घटना न्यूनीकरणका लागि विभिन्न आयोगहरु पनि बनेका छन् । ति आयोगका प्रतिवेदनहरुले सडकको अवस्था दुर अवस्थामा रहेको प्रतिवेदनहरु छन् ।यसका सन्दर्भमा अहिले दुई तीन वटा प्रश्नहरु उठेका छन् ।
एक त सडक निर्माणका लागि गर्ने टेण्डर प्रथा नै गलत हो कि भन्ने कुरा छ । रकम घटाएर टेण्डर दिनेको टेण्डर पर्ने गरेको छ । यो वैज्ञानिक कुरा होइन कि भन्ने छ । टेण्डर दिँदा त्यसको गुणस्तर लाई हेरिनु पर्थ्यो , त्यसो भएको छैन । अर्को कुरा, टेण्डर लिने कम्पनीले कति समयमा प्रोजेक्ट लाई पुरा गर्छ भन्ने कुरा हो । वैज्ञानिक तरिकाले पनियति समय भित्रमा गुणस्तरीय रुपमा मर्मत गर्ने भन्ने कुरा हो तर पूरा गरेको पाइँदैन ।
८० रुपैयाँमा बन्ने चिज लाई ३० रुपैयाँमा बनाउँछु भन्दा हुन्छ त ? त्यसको गुणस्तर त समय अनुसार कमजोर हुदैँ जाने विषय हो नि । टेण्डरमा लगाउने प्रक्रिया लाई नीतिगत रुपमा पुनरावलोकन गर्नु पर्ने छ । तेस्रो, उपलब्ध संयन्त्रलाई कसरी परिचालन गर्ने, सडक कालो पत्रे गर्ने तरिकालाई नै परिवर्तन गर्ने हो कि । प्राकृतिक प्रकोपहरु बाढी र पहिरोले पार्ने क्षति लाई मध्यनजर गर्दै काम गर्नु पर्छ भन्ने लाग्छ ।
यसका लागि मेजर सडक हरुमा ढलानको व्यवस्था गर्नुपर्दछ जस्तो लाग्छ । सडक र यातायात त पब्लिकको ज्यान सँग सम्बन्धित कुरा भएको हिसाबले ध्यान दिनु पर्छ । हामीले कुन सडकमा गुडाउनका लागि कस्तो किसिमका सवारी साधनहरु भित्र्यायौं त ? धेरै यस्ता धेरै प्राविधिक कुराहरु हुन्छन् । जसको बारेमा त्यति ध्यान दिएको पाइँदैन ।नेपाल भित्रिने सवारीहरु प्राविधिक रुपमा कति सक्षम छन् भन्ने विषयमा जाँच्नु पर्ने बेला पनि भएको छ ।
समग्र यातायात सेवा र नेपालका सडकका बारेमा व्यापक अध्ययनको जरुरी छ । मुलुकमा पहाडी क्षेत्रहरु धेरै भएका कारणले पनि यातायात सेवा जोखिम युक्त छ । जोखिम लाई न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ भन्ने विषयमा सरकारले पनि सबै निकाय सँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भन्ने विषयमा सोच्नु पर्ने बेला भएको छ । सवारी र सवारी चालकको फिटनेस जाँज्ने संयन्त्र कमजोर छ ।सात वटै प्रदेशमा यस्तो संयन्त्र बनाउन अति आवश्यक छ ।
८) यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दिएको सुझावमा के छ र कार्यान्वयनको अवस्था कस्तो छ ?
त्यस प्रतिवेदनका बारेमा धेरै कुरा त म भन्न सक्दिनतर, कार्यदलले १३ महिना लगाएर सुझाव बुझाएको छ । त्यसमा काम पनि भइरहेको छ । प्रतिवेदन प्रतिवेदनका लागि मात्र बनेको छैन भन्ने महसुस गरेको छु । कार्यदलमा सदस्यको रुपमा म पनि थिए । प्रतिवेदनमा नेपालको यातायात क्षेत्रका समस्या, कमजोरी र यसको सुधारका लागि कुन निकायले के काम गर्नुपर्ने हो सबै स्पष्ट सँग उल्लेख गरिएको छ ।
प्रतिवेदन अक्षरश पालना गरि दिने हो भने अहिले भएका समस्याहरु मध्ये ८० प्रतिशत समस्याहरु समाधान हुन्छन् । दुर्घटना न्यूनीकरण, सवारी आयात, चालकका लाइसेन्स र अनुभव देखि लिएर सार्वजनिक यातायातमा भएका कमि कमजोरीका कुराहरु उक्त प्रतिवेदनले उजागर गरेको छ । प्रतिवेदनलाई कार्यान्वयन गर्ने भन्ने विषयमा समेत सबैले एक भएर सोच्नु पर्ने बेला भएको छ । आशा गरौं उक्त प्रतिवेदन कार्यान्वयन हुनेछ ।
९) यातायात प्राधिकरण गठनको प्रक्रियाका बारेमा तपाईहरुले आवाज उठाउन थाल्नु भएको धेरै भइसक्यो । के भइरहेको छ गठनको प्रक्रिया?
यस विषयमा आज भन्दा १० वर्ष अगाडि नै आवाज उठाएका थियौं । अब सार्वजनिक यातायातलाई अनुगमन गर्न, नीति बनाउनका लागि प्रविधिमैत्री र जनसरोकारको विषय भएको हुनाले दिगो बनाउनका लागि विभागले काम गर्न सक्दैन भन्ने त प्रमाणित भइनै सकेको छ ।संघीयतामा गइसके पछि त तीनै तहको सरकारको प्रतिनिधित्व प्राधिकरणले मात्र गर्न सक्छ । गठनका लागि सरकार एकदम उदासिन देखिन्छ । म अध्यक्ष भएर आए देखि नै कति जना डिजी र मन्त्री नै परिवर्तन भइसक्नु भयो । तर अवस्था अझै उस्तै छ । काठमाडौं उपत्यकामा प्राधिकरण गठन भएको छ । हामी निरन्तर खबरदारी गरिरहेका छौं ।
विजयबहादुर स्वाँर
केन्द्रीय अध्यक्ष
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ



















आफ्नो प्रतिकृया दिनुहोस्