०५ कार्तिक,काठमाडौं: ‘तपाईंले जुन लक्ष्य लिनु हुन्छ । त्यस लाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईंमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ,’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरु सँग अन्तरक्रिया गर्दै भनिन् ‘तपाईंको रुचि परिवर्तन हुन सक्छ । यो स्वभाविक हो । यसमा चिन्तित हुनु पर्दैन । आफ्ना भावनाहरु अभिभावक लाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’
किशोरावस्थाका संवेग लाई जोड्दै उनले भनिन, ‘आफूले सोचेको कुरा अभिभावकले नबुझेको जस्तो लाग्न सक्छ । अभिभावकले भनेका कुरा आफू लाई चित्त नबुझेको हुन सक्छ । आफू लाई यस्तो लागे पनि अभिभावकले भने सन्तानको भविष्यका बारेमा सोचिरहनु भएको हुन्छ । यो भने महसुस गर्नु पर्छ ।’
महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थीहरु लाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा उनले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरु सँग यसरी अन्तरक्रिया गरेकी हुन् ।अन्तरक्रियाका क्रममा विद्यार्थीहरुले उनको चलचित्र क्षेत्रमा प्रवेश गर्दा र काम गर्दाको अनुभव, संघर्षका कुरा सँगै व्यक्ति गत जीवन सँग सम्बन्धित प्रश्नहरु गरेकी थिइन ।
खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाउँदै भनिन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावक सँग भनिन । उच्च शिक्षामा पनि इञ्जिनियरिङ् पढेँ । गणित गाह्रो लाग्थ्यो । मिहनेत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो ।’
वैवाहिक जीवनका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘विवाह एउटा प्रक्रिया हो । आपसमा कुरा बुझ्न सक्ने भए पछि पेशा अगाडि बढाउन असजिलो हुँदैन ।’डाक्टर बन्छु । इञ्जिनियर बन्छु । पाइलट बन्छु । भन्दा शिक्षकले, अभिभावकले पढ्ने रैछ भनेर हेर्ने दृष्टिकोण सकारात्मक बनाउने भए पछि विद्यार्थीहरुले भित्री रुचि अरु नै भए पनि भन्न चाहिँ अर्कै भन्छन् । कक्षामा अरुले के भन्छ वा सोच्छ भनेर होइन आफू भित्रको रुचिअनुसार क्षमता विकास गर्ने लक्ष्य बनाउनु पर्नेमा प्रोत्साहित गरिएको थियो ।
विद्यार्थीहरु लाई विद्यालय भित्र उपलब्ध भए बाहेकका अवसर प्रदान गर्न क्याम्प भित्र प्रभावशाली व्यक्तित्व सँग एक घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो ।सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘कलाकार सँगै बैङ्क, वित्तीय क्षेत्र तथा विभिन्न प्रतिष्ठित निकायका प्रमुख कार्यकारी, बैज्ञानिक, प्राध्यापक सहित समाजका प्रभावशाली व्यक्तित्व लाई बोलाएर विद्यार्थीहरु सँग अन्तरक्रियात्मक छलफलको अवसर उपलब्ध गराइने छ ।’
जीविकोपार्जनका लागि अपनाइने पेशा जुन सुकै भए पनि त्यस क्षेत्र सँग सम्बन्धित विषयमा मात्र ज्ञान राखेर पुग्दैन । यस सँग सम्बन्धित क्षेत्रका विषयमा जानकारी हुनु पर्छ । यस कारण, पेशा एउटा अपनाए पनि ज्ञान र सीप भने धेरै क्षेत्रको लिनु पर्छ, भन्ने विद्यार्थीमा भावबोध गराउनु क्याम्प सञ्चालनको अर्को महत्वपूर्ण पक्ष हो,’झाको भनाइ छ ।
प्रमुखको सचिवालय सल्लाहकार अनुष्का श्रेष्ठ भन्छिन् ‘पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता कारणले बालबालिकाहरुमा आउन सक्ने हीनता बोध हटाउन काम गरि रहेका छौँ । बालबालिकामा हीनताबोध हटाएर आत्म विश्वाश जगाउन सके समयले माग गरेका अनुरुपका जनशक्ति उत्पादन गर्न सकिन्छ ।’



















आफ्नो प्रतिकृया दिनुहोस्