१० मंसिर,जनकपुरधाम: नेपालमा समलिंगी सम्बन्ध र विवाह ‘बाँदरलाई लिस्नु’ जस्तै भएको वक्ताहरुले बताएका छन् । स्वतन्त्र देशभक्त राष्ट्रिय मोर्चाले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले विदेशीको इशारामा लादिएको समलिंगी विवाह लाई रोक्न आन्दोलनमा जानु पर्नेमा समेत जोड गरेका छन् ।
कार्यक्रममा नेकपा(माले) का कार्यवाहक महासचिव कुमार बेलबासेले देशको मौलिकता लाई प्रहार गर्न पछिल्लो पटक समलिंगी विवाह लाई अगाडी बढाईको आरोप लगाएका छन् ।पूर्व श्रम मन्त्री समेत रहेका बेल्बासेले देशको भाषा–संस्कृति,चालचलन र आर्थिक परनिर्भता लाई थप बढावा दिने योजना सहित यस्ता एजेण्डा घुस्ने गरेको बताउँदै भने,“दौरा सुरुवाल र नेपाली टोपी लगाउने तर विदेशीका मान्छेहरुले देश लाई समलिंगी विवाहलाई मान्यता दिदैछन् ।”
मानव अधिकारकर्मी डा.केवी रोकायाले कानुन नबनी सर्बोच्च अदालतको एकल इजलास बाट समलिंगी विवाह लाई मान्यता दिन गरिएको अन्तरिम आदेशलाई अस्वीकार गर्नु पर्ने धारणा राखे । सरकारले योजना बद्धरुपमा नेपाललाई समलिंगी पर्यटनको अन्तराष्ट्रिय केन्द्र बनाउने विषय गलत भएको बताउँदै भने,“जानकी मन्दिर लाई इन्टरनेसनल वीडिङ हब, समलिंगी टुरिष्ट गाईड तालिम दिनु, संसदमा समलिंगी सांसद हुँदै राज्यका हरेक निकायमा आरक्षणको योजना देश ध्वस्त पार्ने पश्चिमा डिजायन प्रति चनाखो हुनु पर्छ ।”
नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले पछिल्लो समय घनिभूत रुपमा युवा पलायनको विदेशी योजना कार्यान्वयन भइरहेको र समलिंगी विवाह देशलाई जनसंख्या घटाउने र पूर्ण परनिर्भर बनाउने दीर्घकालीन षड्यन्त्र भएको बताए । निरौलाले अमेरिकी परियोजना एम्सीसीमा पुरक सम्झौता नभए देशपूर्ण रुपमा अमेरिकी पन्जामा जाने पनि बताए ।
नेपाली काँग्रेस(विपी) का महामन्त्री देबेन्द्र पौडेलले समलिंगी विवाह लाई कानुनी मान्यता दिईए भविष्यमा देश नागरिक विहीन बन्ने चिन्ताव्यक्त गरे । पौडेलले देश लाई असफल बनाउने विदेशी षड्यन्त्रका विरुद्ध आन्दोलन गर्नु पर्ने समेत बताए ।
नेकपा(एमाले)का युवा नेता प्रकाश रोकायाले नेपालमा ठूला भनिने पार्टीका मुख्य नेताहरु, अदालतका न्यायाधिश र कर्पोरेट मिडियाहरु बिकेर समलिंगी विवाह र सम्बन्ध लाई मान्यता दिन लगेको आरोप लगाए ।
आमुल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले अदालतको निर्णय भनेर देश र जनता लाई घात हुने विषयमा चुप बस्न नहुने बताउँदै भने,“यहाँ सबका सब विकाउ बने उनिहरु लाई तह लगाउन सडक आन्दोलन जरुरी छ ।”
नेकपा(माले)का स्थायी समिती सदस्य कृष्ण रानाले जनता नबोलुन भनेर देश कम्जोर पार्न समलिंगी विवाह र सम्बन्ध रुपी मन्दविष हालिएको छ, यस लाई जसरी पनि रोक्नु पर्ने धारणा राखे ।
आयोजक स्वतन्त्र देशभक्त राष्ट्रिय मोर्चा नेपालका संयोजक दिनानाथ घिमिरेले अप्राकृतिक, संस्कृति, परम्परा र समाज विरुद्ध आएको समलिंगी सम्बन्ध लाई जनताले राम्रो सँग बुझ्नु पर्ने र त्यसका लागि आफूहरुले निरन्तर खबरदारी गर्ने बताए ।
आयोजक मोर्चाका सचिव विनोद देव पन्तले देशमा एक पछि आर्को गर्दै राष्ट्रघाति एजेण्डाहरु थोपरिनु दुर्भाग्य भएको बताए ।नागरिक सरोकार नेपालका सचिव विदुर अधिकारीले न्यायालयमै घुसेर समाज लाई भत्काउने र नेपाली मौलिकता माथिको प्रहार लाई कानुनी बाटो बाट पनि हल गर्नु पर्ने धारणा राखे ।



















आफ्नो प्रतिकृया दिनुहोस्