५ चैत्र,जनकपुरधाम: धनुषाको सबैला नगरपालिकामा चोक नामकरण सम्बन्धी उत्पन्न विवाद समाधान गर्न सर्वपक्षीय छलफलपछि पाँच बुँदे सहमति भएको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषा, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयबिच भएको छलफल पछि उक्त सहमति गरिएको हो।
सहमति अनुसार सबैला नगरपालिकाले आगामी दुई महिना भित्र विवादित चोकको नामकरण गर्ने छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा नगरपालिकाले जिल्ला सुरक्षा समिति सँग समन्वय गरी निर्णय गर्ने छ।

त्यस्तै, घटनामा घाइते भएका व्यक्तिहरूको उपचार र क्षतिपूर्तिका लागि जिल्ला सुरक्षा समितिले गृहमन्त्रालय सँग समन्वय गर्ने निर्णय भएको छ। साथै, नामकरण नभए सम्म सो स्थानको अवस्था परिवर्तन नगरिने सहमति भएको छ।
घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) को संयोजकत्वमा समिति गठन गरिएको छ, जसको प्रतिवेदनका आधारमा थप निर्णय गरिनेछ।
सर्वपक्षीय सहमति पत्रमा सबै पक्षलाई संयमित रहन तथा सम्मानजनक व्यवहार गर्न आग्रह गरिएको छ। चोकको नामकरण नभए सम्म सबै पक्षले आपसी सद्भाव कायम राख्ने सहमति जनाएका छन्।
सोमबार चोक नामकरण विवादकै क्रममा प्रहरीद्वारा प्रहार गरिएको गोली लागी शहिदनगरका २० वर्षीय युवक सन्तोष यादव घाइते भएका थिए। उनको हाल काठमाडौँमा उपचार भइरहेको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्