२६ वैशाख,सिरहा, (गोलबजार) : सिरहा जिल्लाको गोलबजार नगरपालिका–७ चाहेर्वा स्थित एपेक्स विद्या मन्दिरका कक्षा ८ मा अध्ययनरत १३ वर्षीय अविनास यादव शिक्षकको कुटाइ बाट गम्भीर घाइते भई अस्पतालमा भर्ना भएका छन्।
अविनासलाई शिक्षक सन्तोष गुप्ताले कोठामा थुनेर बाँसको लठ्ठीले निरन्तर कुटपिट गरेका थिए। होशमा आए पछि उनले अस्पतालको शैयाबाट आफू माथि भएको दुर्व्यवहारका बारेमा जानकारी दिएका छन्। उनका अनुहार, पिठ्यु र तिघ्रामा गहिरा चोट र नीलडाम देखिएको अस्पताल स्रोतले जनाएको छ।
पीडितका पिता सुरेश कुमार यादवले बताए अनुसार, “म खाना खान बसिरहेको थिएँ, अचानक कसैले फोन गरेर भन्यो—तपाईंको छोरालाई पिटेर बेहोस बनाइएको छ। म तुरुन्तै विद्यालय पुगेँ, छोरालाई हेर्दा चिन्नै नसकिने अवस्थामा थियो। झण्डै मरे जस्तो थियो। यस्तो घटना सह्य हुँदैन, हामी न्याय चाहन्छौँ।”
शिक्षक गुप्ताले गृहकार्य नगरेको बहानामा अविनास माथि कुटपिट गरेको बताइएको छ। घटना पछि प्रहरीले शिक्षक सन्तोष गुप्तालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय, गोलबजारले जनाएको छ। प्रहरीले घटनाको पूर्ण छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने बताएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्