(राहुल राय),१४ जेठ,सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–८, लामाटोलबा मा ग्राभेल उत्खनन रोक्न खोज्दा स्थानीयवासी र उत्खनन व्यवसायी बीच तनावपूर्ण अवस्था सिर्जना भएको छ। गाउँछेउको बगैंचामा स्काभेटर र ट्रिपर लिएर उत्खनन गर्न पुगेका व्यवसायी बेचन शर्मा समूह र स्थानीय बासिन्दा बीच झन्डै एक घण्टा घम्साघम्सी र हातपातको स्थिति उत्पन्न भएको हो।
गत शुक्रबार सयौं बाहुबली सहित उत्खनन गर्न पुगेका शर्मा समूह लाई गाउँले महिला, पुरुष तथा बालबालिका समेत सडकमा उत्रिएर प्रतिरोध गरे पछि तत्कालका लागि उत्खनन रोकिएको छ। तर व्यवसायी पक्षले बल प्रयोग गरेर भए पनि उत्खनन गर्ने अड्डी लिएको छ।
स्थानीय सुरेश तामाङ भन्छन्, “हामी मर्न तयार छौं, तर हाम्रो बस्ती छेउमा उत्खनन गर्न दिँदैनौं। स्वच्छ वातावरणमा बाँच्न पाउने हाम्रो मौलिक अधिकार हो।” उनका अनुसार उत्खनन क्षेत्र नजिकै विद्यालय, बगैंचा र बस्ती रहेको छ।
त्यसैबीच, व्यवसायी बेचन शर्मा ले भने नगरपालिकाबाट कानुनी अनुमति लिइसकेको दाबी गर्दै काम रोक्नु नपर्ने जिकिर गरेका छन्। तर स्थानीय जमुनी तामाङ ले शर्माले बाहुबली प्रयोग गरी स्काभेटर मार्फत विरोधमा उत्रिएकालाई खाडलमा पुर्याउने धम्की समेत दिएको आरोप लगाएकी छन्।
प्रितम तामाङ का अनुसार उत्खनन अनुमति प्रक्रिया नै विवादास्पद छ। उनले पुरानो मितिमा मात्र एक पत्रिकामा सूचना प्रकाशित गरेर गोप्यरूपमा वातावरणीय प्रभाव मूल्यांकन गरिएको, फर्जी भेला र हस्ताक्षर मार्फत सहमति जुटाइएको बताएका छन्। साथै उनले नगर प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ ले सेवा निवृत्त हुनु पूर्व करिब १५ लाख रुपैयाँ घुस लिई अनुमति दिएको आरोप पनि लगाएका छन्। यद्यपि गुरुङले “नगरपालिकाको आम्दानी बढाउन अनुमति दिएको” बताएका छन्।
यस विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ले भने, “स्थानीयको असन्तोष समाधान गरेर सहमतिमा मात्र उत्खनन गर्न नगरपालिकालाई भनिएको छ। शान्ति सुरक्षामा असर परे हस्तक्षेप गरिनेछ।”
स्थानीय रीता तामाङ ले उत्खननका कारण भूमिगत पानीको सतह घटेको, वनस्पति सुक्न थालेको र स्काभेटरको आवाज तथा धूलो बाट दिनहुँ सास्ती भोग्नुपरेको बताइन्। जमुनी तामाङले भनिन्, “गाउँभर त्रास फैलिएको छ, रातभर पहरा दिनु परेको अवस्था छ।”
व्यवसायी बेचन शर्माले भने, “६०–७० लाख रुपैयाँ लगानी गरिसकेको छु। मेसिन लिएर बसेको छु, खन्न दिएका छैनन्। मिलाउने प्रयासमा छु।”



















आफ्नो प्रतिकृया दिनुहोस्