३० जेठ,जनकपुरधाम : जनकपुरधाम–२३ मा अवस्थित शहीद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी त्यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति ४४ वर्षीय रतन महतो हुन्, जो जनकपुरधाम–२३ का स्थानीय बासिन्दा हुन्। उनले केही दिन अघि शहीद झाको सालिकमा चप्पल प्रहार गरी भिडियो बनाएर फेसबुक जस्ता सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
उक्त घटना पछि सामाजिक सञ्जालमा शहीद झाका समर्थक, विभिन्न संघ-संस्था, युवा क्लब र राजनीतिक दलका प्रतिनिधिहरूले घटनाको कडा निन्दा गर्दै दोषी लाई कानुन अनुसार कारबाहीको माग गरेका थिए।
सार्वजनिक दवाब र ध्यानाकर्षण पछि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अघि बढाउँदै गएको थियो। अनुसन्धानको क्रममा महतो जेठ २९ गते वडा नं. २३ अन्तर्गत लादो गाउँमा डुलिरहेको अवस्थामा फेला परेका थिए। उनलाई तत्कालै नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ।
पक्राउ परेका महतो माथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्नताको विषयमा विस्तृत छानबिन जारी रहेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्