३२ असार,जनकपुर, धनुषा । दिउँसोको समयमा पेस्तोल देखाएर लुटपाट गर्ने एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारत बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको उस्राही ग्रामपञ्चायत, देवधा थाना–८, पिठुवा टोलका २३ वर्षीय विजय मुखिया रहेका छन्।
धनुषा प्रहरीले बुधबार पत्रकार सम्मेल नमार्फत दिएको जानकारीअनुसार, असार २० गते जनकनन्दनी गाउँपालिका–१ का अजय कुमार गोइत माथि लुटपाट गरिएको थियो। मुखियाले गोइतलाई बैंक जाँदै गर्दा बाटो छेकेर पेस्तोल देखाई नगद २ लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक तथा एप्पल कम्पनीको आइफोन १६ प्रो लुटेका थिए।

घटना पछि अनुसन्धान थालेको प्रहरीले मुखियालाई सोमबार साँझ सबैला नगरपालिका–९, ठिल्लाबाट पक्राउ गरेको हो। घटनामा प्रयोग गरिएको BR32AY3938 नम्बरको निलो रङको अपाचे मोटरसाइकल र लुटिएको ब्याग पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार मुखिया पेशेवर लुटेरा हुन् र भारतमै उनीमाथि ९–१० वटा मुद्दा दर्ता छन्। साथै, उक्त घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
मुखिया माथि थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्