(प्रमिला कार्की),१ साउन,काठमाडौं । सनातन धर्मावलम्बीहरुका लागि श्रावण धार्मिक कार्यहरू गर्नका लागि उत्तम महिना मानिन्छ । हरिशयनी एकादशी देखि शुरु भई हरिबोधिनी एकादशीमा समाप्त हुने चतुर्मासको पहिलो महिना र शिव उपसना महिना भएकाले श्रावणको विशेष महत्व रहेको पाइन्छ ।
श्रावण महिना देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । यसै सिलसिलामा विश्वका सनातनीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा विशेष तयारी भइरहेको छ ।श्रावण महिना भरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा रहेकाले यो महिनाभर पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गर्दछ ।

श्रावण भर पाशुपत क्षेत्रमा दर्शन गर्न आउने बाहेक यज्ञ, मेला, महोत्सव समेत हुने भएकाले पशुपति विकास कोषले विशेष तयारी गरिरहेको छ ।विशेष गरी श्रावण महिनाको हरेक सोमबार (साउन ५, १२, १९ र २६) को दिन भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले विकास कोषले स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, पार्किङ व्यवस्थापन, दर्शनका लागि लाइन व्यवस्थापन लगायतका तयारीहरू सम्पन्न गरिसकेको कोषका कार्यकारी निर्देशक सुभाष चन्द्र जोशीले जानकारी दिए ।
‘नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पर्यटक प्रहरी, स्वयं सेवक र स्थानीय संघ–संस्थाहरूसँग समन्वय गर्ने गरि बैठक सम्पन्न भइसकेको छ । हाम्रो व्यवस्थापनले पनि आफ्नो तर्फ बाट गर्ने कार्यहरु सयुक्त रुपमा कुन कुनपक्षले के के गर्ने भनेर आ–आफ्नो भूमिका प्रभावकारी बनाउने प्रयासमा छौं । सबै सँग तयारी बारे छलफल गरेका छौं । पशुपतिनाथको दर्शनलाई सहज बनाउने गरी काम भइरहेको छ,’ जोशीले भने ।
दर्शनका लागि आएका भक्तजनहरुका सवारी साधनपार्किङका लागि बनकाली, उमाकुण्ड र भण्डार खाल तर्फ व्यवस्था मिलाइएको छ भने परिषद्भित्रको पार्किङ पनि सञ्चालनमा ल्याइने कार्यकारी निर्देशक जोशीले बताए।दर्शन लाई सहज बनाउन लाइन र जुत्ता–चप्पल व्यवस्थापनमा स्थानीय क्लबहरूको सहकार्यमा काम भइरहेको समेत उनले जानकारी दिए ।

यसै गरी कोषले शारीरिक रुपमाअशक्त, वृद्धवृद्धा, महिला लगायत सबै भक्तजनलाई सहयोग पुगोस् भनेर साउनको सोमबार बिहान ४ बजे देखि ९ बजे सम्म रिङरोड परिक्रमा गर्ने दुई रुटमा नि:शुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ।एउटा रुट गौशाला बाट एयरपोर्ट हुँदै कोटेश्वर जाने र अर्को रुट गौशालाबाट चावहील, महाराजगञ्ज हुँदै पुन: रिङरोडमा फर्किने समेत उनले बताए ।
उनले भने, ‘यो वर्ष ५, १२,१९ र २६ गते पर्ने श्रावणको सोमबारमा चक्रपथ क्षेत्रमा नि:शुल्क बस सेवा सञ्चालन गर्दैछौं । विशेष गरेर वृद्धावृद्धहरु, भिन्न क्षमता भएका भक्तजनहरु, महिलाहरु एवम सबैका लागि रिङ्रोड राउण्डमा बिहान ४ बजे देखि ९ बजे सम्म नि:शुल्क बस सञ्चालन गर्ने योजना बनाएका छौं ।’
यसैगरी सञ्चारमाध्यम बाट सूचना सम्प्रेषण लाई प्रभावकारी बनाउन यसपटक स्थायी मिडिया सेन्टरको पनि स्थापना गरिने कोषका कार्यकारी निर्देशक जोशीले बताए। उक्त केन्द्रबाट पत्रकारहरूले प्रत्यक्ष जानकारी लिन सक्ने छन् ।

श्रावणी मेलामा भारतीय तीर्थयात्रीको उल्लेख्य आगमन हुने भएकाले भेटी व्यवस्थापन र धार्मिक कार्यक्रमको अनुमति प्रक्रियामा पनि कोषले विशेष ध्यान दिएको छ। यस्ता कार्यक्रमहरू बाट कोषलाई आर्थिक आम्दानी हुने भए पनि, यसको मुख्य उद्देश्य धार्मिक र सांस्कृतिक मूल्य मान्यता कायम राख्नु रहेको जोशीले बताए।
उनले भने, ‘भेटी पनि सम्भवत बढ्न सक्छ ।किन भने भारतीय तिर्थ यात्रुहरुको पनि एकदमै ठूलो आवगमन हुने देखिएको छ । पशुपति क्षेत्र भित्र हामीले धार्मिक र सांस्कृतिक विषेश गरेर धार्मिक कार्यक्रम गर्नको लागि अनुमति दिने गरेका छौँ र त्यसको निश्चित शूल्कहरु लिन्छौँ । त्यस बाट कोषलाई हुने आर्थिक आर्जन त देखिने हिसाबले भयो तर त्यसको सनातनी धार्मिक महत्व फरक रहनेछ ।’
पशुपतिनाथ मन्दिरमा श्रावण महिनामा हुने श्रावणी मेलालाई केवल धार्मिक उत्सवको रूपमा मात्र नभई, सांस्कृतिक एवं पर्यटन प्रवर्धन को अवसरको रूपमा लिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कार्यकारी निर्देशक जोशीका अनुसार, ‘दर्शनार्थी जुन उद्देश्यले आए पनि उनीहरू पशुपतिनाथ क्षेत्रमा आइ पुग्छन । त्यो नै मन्दिरको प्रतिष्ठा र मान बढ्ने एउटा महत्वपूर्ण पक्ष हो ।श्रावणी मेलाको व्यवस्थापनमा कोषले स्थानीय क्लब, राष्ट्रिय संस्था, संघसंस्था, स्वयंसेवी संस्था र सुरक्षा निकायसँगको सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। जोशीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा संस्थालाई निकायहरूसँग समन्वय गरेर काम गरिरहेको बताए ।
यस वर्ष कोषका प्रशासनिक जिम्मेवारी सम्हाल्ने कर्मचारीहरू श्रावण महिनाभर साउनको सोमबार, शनिबार तथा नागपञ्चमी जस्ता पर्वहरूमा फिल्डमै खटिने छन् । ‘हामी कहाँ फिल्डमा काम सुरु भइसकेको छ, केवल निर्देशन होइन, सहभागितामूलक व्यवस्थापनमा हामी विश्वास गर्छौं,’ जोशीले भने ।यस पटक कोषले परिषद्का सदस्यहरूलाई अभिभावकीय भूमिकामा प्रस्तुत हुन आह्वान गरेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्