१२ साउन,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयका सेवाहरु लाई एकद्वार प्रणालीमा ल्याउँदै प्रविधिमैत्री बनाउनका लागि अभियान सञ्चालन भइरहेको बताएका छन्।
सोमबार काठमाडौंमा ‘श्रम संसार नागरिक एप’ को शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले डिजिटल नेपालको अवधारणाअनुसार सेवा प्रवाहलाई पेपरलेस, फेसलेस र पारदर्शी बनाउने दिशामा मन्त्रालय अघि बढिरहेको जानकारी दिए।

“श्रम मन्त्रालयले दिने सबै सेवा एकद्वार प्रणाली मार्फत प्रविधिको अधिकतम प्रयोग गर्दै प्रभावकारी र पारदर्शी बनाइनेछ,” उनले भने, “अबको सेवा प्रवाह प्रविधि मैत्री र नागरिक मैत्री हुने छ।”
उनले नेपालको श्रम बजार सम्बन्धी विश्लेषणात्मक सूचनाको अभावका कारण मुलुक भित्रका रोजगारीका सम्भावनाहरुको उपयोग हुन नसकेको र नेपाली युवालाई वैदेशिक रोजगारीमा जान बाध्य बनाएको उल्लेख गरे।
“हामी कहाँ कुन जनशक्ति छ, उनीहरुको सीप के हो, देशलाई कस्तो जनशक्ति चाहिएको हो—भन्ने कुरामा छलफल नहुनुले श्रमशक्ति र रोजगारीबीचको असन्तुलन बढेको छ,” उनले भने, “यसले दक्ष जनशक्ति तयार गर्न वा उपलब्ध जनशक्तिलाई उचित रोजगारीमा जोड्न असफल बनायो।”
मन्त्री भण्डारीले आउँदो १० वर्ष भित्र बाध्यात्मक वैदेशिक रोजगारमा जाने अवस्थाको अन्त्य गर्नु पर्ने आवश्यकता पनि औंल्याए।



















आफ्नो प्रतिकृया दिनुहोस्