(रस्मिता गिरी ),१३ साउन ।नेपालमा विशेष गरी पाटे बाघ पाइन्छ । यिनीहरु पर्सा, चितवन, बर्दिया, बाँके, शुक्लाफाँटा गरी पाँच स्थानमा संरक्षित छन् ।यि स्थानको वरपरको क्षेत्रमापनि बाघ पाइन्छ । तर नेपालमा रहेका बाघहरुको संरक्षण र सुरक्षामा स्थानीय निकाय देखि सरोकारवाला हरुको सहभागितामा मिलेर काम गरिरहेका छौं ।
जसका कारण अहिले उल्लेखनीय रुपमा बाघको संख्यामा वृद्धि भइरहेको छ । २०१० मा १२१ को संख्यामा रहेको बाघ २०२२ मा आइपुग्दा ३५५ पुगेको छ । आँउदो वर्ष बाघको सर्वेक्षण गरेर थप गणना गरि अन्य विवरण निकाल्ने प्रयासमा छौं ।
गणना विधि
बाघको गणना निकै चुनौति पूर्ण छ । हाल क्यामरा ट्रयाप विधिबाट गणना गरिरहेका छौं । बाघ पाउने सम्भावित बास-स्थललाई घना वन जंगल क्षेत्र भएकाले जंगललाई दुई वाई दुईको ग्रिडमा विभाजन गरेर काम गरिरहेका छौं । बाघ हिड्ने पाइला देखि गन्ध सम्मको आधारमा उपयुक्त ठाँउ पहिचान गरि एक जोडी क्यामरा दुइ हप्ता भन्दा बढी समय एकै स्थानमा राखेर काम गर्ने गर्छौ । त्यस्ता क्यामराले निरन्तर र स्वचालित रुपमा बाघ आउने वित्तिकै फोटो खिच्छ ।
एउटा बाघको शरीरको पाटो अर्को बाघसँग नमिल्ने भएकाले सोही अनुसार गणना गरिरहेका छौं । र बाघको शरीरको एका पट्टीको पाटो अर्को पट्टी सँग मिल्दैन । मान्छेको हातको फिङ्गर प्रिन्ट अर्को पट्टी सँग नमिले जस्तै सोही आधारमा पहिचान गरि गणना गर्ने गरेका छौं । हरेक चार देखि पाँच बर्षमा बाघको सर्वेक्षण गरि तथ्यांक निकाल्ने गरेका छौँ।
पर्यटनमा चासो
नेपालमा पाइने बाघलाई संरक्षण गरेर अन्तर्राष्ट्रिय जगतमा पहिचान गरिरहेका छौं । बाघको संख्या दोब्बर होइन तेब्बर बनाउने लक्ष्यका साथ काम पनि गरिरहेका छौं । बाघले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको छ । नेपाल भ्रमण गर्ने विदेशीहरु जति छन् खासगरी वन्यजन्तु अवलोकन गर्न आउने गरेका छन् ।
प्रकृति सँग रमाउनको लागि नै विदेशीहरु पर्यटकको रुपमा नेपाल आउने गरेका छन् । नेपालमा आएका पर्यटनहरु मध्ये ६० प्रतिशत निकुन्ज घुम्न आउने गरेको तथ्यांकमा उल्लेख छ । त्यसमा पनि पाटे बाघ हेर्न आउनेहरुको संख्या बढी छ । उनीहरु बाघ हेर्न पाउँदा नै खुशी छन् । त्यसैले संसार बाट लोप हुन लागेका वन्यजन्तु हरुको संरक्षण गर्नु पर्छ भन्ने हाम्रो लक्ष्य हो । संसारका १४ वटा मुलुकमा मात्र बाघ पाइने गरेको छ ।
विश्वका अन्य देशको तुलनामा बाघको संख्या वृद्धि हुँदै गएको छ । बाघको संख्या वृद्धि हुँदा धेरै हौसिनु पनि हुँदैन । हुनत यसका चुनौति धेरै छन् । चुनौतिको सामना गर्नका लागि पनि हाम्रो क्षमताको विकास गर्न जरुरी छ तर बाघको संख्या वृद्धिले नेपालको पहिचान लाई अभिवृद्धि गरेको छ र पर्यटकहरुको आर्कषकको रुपमा रहेको छ ।
संरक्षणको प्रयास
बाघले आफ्नो क्षेत्राधिकार भित्र बस्छ । त्यो क्षेत्राधिकार भित्र अर्को बाघ आयो भने द्वन्द्व हुन्छ । र जसले जित्छ त्यो क्षेत्रमा उसैले राज गर्छ । बाघको स्थान भनेको एकदमै फरेस्ट एरियामा मात्र हो । वास्तवमा बाघ लाई जंगलमा बस्दा चाहिने भनेकै आहारा हो । बाघको आहारा भनेको मृग प्रजाती नै हो ।
आहारा पर्याप्त बनाइ दिनको लागि घाँसे मैदान सुधार गर्ने, पानीको प्रर्वद्धन गरि दिने, पानीको मुहान बनाइ दिने, सरसफाइको काम गरिदिने र बाघको बासस्थान लाई चोरी शिकारी हुनबाट बचाउन लाई सुरक्षणको लागि नियमित रुपमा गस्ती गर्ने गरिरहेका छौं ।
त्यसमा नेपाली सेना देखि खटिएका सबै कर्मचारीहरुले नै गस्तीका कामहरु गर्ने गर्छन् । चोरी शिकारी भएर गैर कानुनी रुपमा विक्री वितरण हुन सक्ने सम्भावनालाई पनि निस्तेज गर्नका लागि विभिन्न समन्वयात्मक संयन्त्र निर्माण गरेका छौँ । जसमा बाहिर ओसार पसार रोक्न देखि भित्रको सुरक्षा सम्ममा नेपाल प्रहरी, नेपाली सेना लगायतका अरु सुरक्षा निकायहरुपनि आवद्ध गराइ संरक्षण गराएका छौं ।
आय आर्जनमा जोड
स्थानीय स्तरमा निकुन्ज आसपास बसोबास गर्ने हरु लाई मध्यवर्ती क्षेत्रको अवधारणामा ल्याएर समूह एवम समिति मार्फत संरक्षणमा सचेतना मुलक काम गर्दै आइरहेका छौं । समुदायको विकासका लागि ३० देखि ५० प्रतिशत रकम चाहीं स्थानीय समूदायको सामुदायिक विकास जनचेतनाको वृद्धि, जैविक विविधता, प्रजाती संरक्षणका गतिविधि जस्ता कार्यक्रमहरु संचालन गर्न सरकारले कानुनी व्यवस्था गरेको छ ।
सोही मोडालिटिमा समुदाय देखि सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रुपमा सहयोग गरिरहेको छ । सबैले मिलेर समूदायको हितको विषयलाई लिएर काम गर्ने, आयआर्जनको विषयलाई पनि विशेष जोडदिने गरेको छ । साथै समुदाय लाई वनजंगल भित्र प्रवेश गर्न नदिने कार्यक्रम पनि साथै अघि बढाएका छौं ।किनकि समुदाय जंगल भित्र प्रवेश गर्दा बाघ सँग द्वन्द्व हुने गरेको छ ।
गाउँमा किन पस्छ बाघ ?
सामान्य अवस्थामा बाघ गाँउमा पस्दैन । बाघ सकभर मानव बस्ती भन्दा पर नै बस्छ । यदि जंगलमै हिडेको अवस्थामा, नजिकै छ भने या जम्काभेटमा पनि बाघ मान्छे सँग झम्टि हाल्दैन । उ लसक्क लस्किने,लुक्ने, धेरै गतिविधि त्यहाँ नदेखाउने स्वाभावको हुन्छ । अध्ययनको आधारमा भन्नुपर्दा जति बाघ र मान्छे बिचको द्वन्द्व छ ती घटना यस्ता छन् कि घाँस काट्न जाँदा,दाउरा संकलन गर्न जाँदा आक्रमणमा परेको देखिन्छ ।
धेर थोर सानो संख्यामा बाघ कहिलेकाहीं बाहिर निस्कछ । त्यस्तो बेला कस्तो किसिमको बाघ बाहिर निस्कन्छ भन्ने कुरा ध्यानमा राख्न जरुरी देखिन्छ । सामान्यत: प्राकृतिक स्थलमा बाघ जो आफ्नो आवश्यकता पूरा गर्न सक्छ, उ शिकार गर्न सक्षम छ भने त्यस्तो किसिमको बाघ गाँउमा प्रवेश गर्दैन । त्यस भित्र अरु बाघ पनि हुन्छन् ।
तिनीहरु बिच द्वन्द्व हुन्छ र लडाई हुँदा एउटा घाइते हुन्छन् ।उसलाई चोटलाग्छ र घाइते हुन्छ । घाइते भएको बाघले जंगलमा शिकार गर्न नसक्ने हुँदा उ गाँउमा पस्छ । र उ गाँउमा पसे पछि त्यहाँ मानिसको समिपमा आँउछ । यदी गाईबस्तु छ भने गाइबस्तु लाई आक्रमण गर्छ, या त मानिस लाई आक्रमण गर्छ ।
मान्छेलाई आक्रमण गर्नुको कारण
खास गरी मान्छेलाई आक्रमण गर्ने बाघको स्वभाव हुँदैन । तर उसले आफ्नो सुरक्षाको लागि आक्रमण गर्छ । बाघले आफनो बच्चा देखिनै सिकेको हुन्छ, कस्तो किसिमको शिकार गर्ने, कसरी गर्ने भनेर । र बाघ ठूलो भए पछि मात्र माउले सिकाए अनुसारको शिकार गर्छ । बाघले कहिले पनि दुई खुट्टे मानिस तेरो शिकार हो भनेर सिकाएको हुँदैन ।
उसलाई चार खुट्टे मात्र शिकार गर्न सिकाएको हुन्छ । यदी झुक्किएर शिकार गर्यो भने मात्र उसले मान्छेको शिकार गर्छ ।त्यस्तो किसिमको बाघलाई नरभक्षी बाघ भन्छौँ ।र नरभक्षी बाघलाई उचित व्यवस्था गर्ने गरिएको छ । बाघले एक चोटि मान्छे खाइसके पछि पुन:दोहोर्यायो भने त्यो खतराको संकेत हो । त्यस्ता बाघलाई समातेर खोरमा हाल्ने काम गरेका छौँ ।
यदी बाघको बच्चा आराम सँग बसेको छ भने त्यस बेला पनि मानिससँग जम्काभेट भयो भने आक्रमण गर्छ । मानिस निहुरिरहेको अवस्थामा पनि बाघ चारखुट्टे प्राणी हो भनेर झुक्किन सक्छ । त्यो बेला पनि पनि बाघले आक्रमण गर्न सक्छ । बाघ जन्मिन्छ हुर्कन्छ र बुढो हुन्छ । बाघ बुढो भए पछि शारीरिक रुपमा अशक्त हुँदा शिकारका लागि दौडन सक्दैन र उ गाँउ पस्ने गर्छ ।
अध्ययनले पनि के भन्छ भने बढीमा चार प्रतिशत बाघ मात्र द्वन्द्वमा आउने गर्छ ।सबै बाघ द्वन्द्वमा आँउदैन । त्यस्ता किसिमका बाघलाई क्यामरा ट्रयापबाट पहिचान गरि उसलाई कैद गरि खोरमा राख्ने गरेका छौं । बाघ र मान्छे बीच मात्र द्वन्द्व होइन गैंडा, हात्ती, चितुवा सँग पनिद्वन्द्व हुन्छ । हाम्रो नीति, नियम, कानुन यस्तो छ कि सुकुम्बासीलाई लगेर जंगलमा लगेर बसोबास गर्न लगाउने, लालपुर्जा दिने गरिन्छ ।यस कुरालाई व्यवस्थित बनाउन आवश्यक छ ।
बाघ दिवसको सान्दर्भिकता
जुलाई २९ लाई संसारभर बाघ दिवस मनाउने गरिन्छ । बाघ संसारको १४ वटा देशमा पाउँछ । बाघ पाउने हिसाबले पनि नेपालले हरेक बर्ष बाघ दिवस मनाउने गरिएको छ । यस बर्षको नारा ‘सह-अस्तित्व र आयआर्जन बाघ संरक्षणको लागि मानव व्यवहार परिर्वतन’ भन्ने छ ।पृथ्वीमा बाघलाई पनि बाँच्न पाउने अधिकार छ । मान्छेको पनि त्यत्तिकै बाँच्न पाउने अधिकार छ । सह-अस्तित्व कायम गरेर दुबै समान हिसाबले बाँच्न पाउनु पर्छ भन्ने नाराले समेटेको छ ।
अर्को आयआर्जन, पर्या–पर्यटनका गतिविधिहरु जति पनि छन् बाघ पाउने ठाँउहरु वानि कुन्जहरुमा होटल व्यवसाय चलेको छ । जंगल सफारी देखि जिप सफारी चलेको छ । बाघका कारण जति पनि पर्यटन व्यवसायहरु चलेको छ बाघको फ्लो पनि बढेको हो । जतीपनि रोजगारीका अवसरहरु छन् पर्यटन व्यवसाय बढेको छन् । त्यसको मुलजड त बन्यजन्तु नै हो । आकर्षण त बन्यजन्तु नै हो । आय आर्जन सँगअझ बढी जोड्दै, सह-अस्तित्व कायम गर्दै होटल व्यवसायीले आम्दानी बृद्धि भएको छ ।
यसो भनि रहँदा बन्यजन्तु बाट पीडित समुदायलाई पनि सहयोग गर्न जरुरी छ । यस बर्ष राष्ट्रिय स्तरको कार्यक्रम चितवन राष्ट्रिय निकुन्ज भित्र गर्ने तयारी गरिएको छ । स्थानीय सरकार देखि सरकारी निकाय सम्म मिलेर एक दिने कार्यक्रम आयोजना गरेका छौँ ।
त्यहाँ विशेषत बाघको अहिलेको अवस्था देखि चुनौती अवसरलाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ । छलफल देखि प्यानल डिस्कसन जस्ता कार्यक्रम पनि राखेका छौँ। (राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका बरिष्ठ ईकोलोजिष्ट एवम सूचना अधिकारी हरिभद्र आचार्य सँग गरेको कुराकानीमा आधारित)



















आफ्नो प्रतिकृया दिनुहोस्