बीरगंज। खानेपानी मन्त्री प्रदीप यादव र बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साह स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएकी छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार पेट दुख्ने र वान्ता हुने समस्या देखिएपछि बुधबार बिहान उनलाई नारायणी अस्पताल लगिएको हो। साहलाई मंगलबार साँझ पनि स्वास्थ्य समस्या भएपछि अस्पताल पुर्याइएको तर सुधार भएपछि पुन: प्रहरीको महिला सेलमा ल्याइएको थियो।

२२ वर्षीया साह भदौ १४ गते पर्सा प्रहरीले पक्राउ गरेकी हुन्। पक्राउ भएदेखि नै उनले पानी बाहेक अन्य खानेकुरा नखाएकाले कमजोरी बढेको डिएसपी लम्सालले बताए। अस्पतालका चिकित्सक अभिनास श्रीवास्तवले साहलाई अत्यधिक कमजोरी रहेको जानकारी दिएका छन्।
साहले पक्राउ परेको अर्को दिनदेखि नै वान्ता र पेट दुखाइका कारण खानपान गर्न नसकेको बताइन्। स्वास्थ्य बिग्रिएपछि मंगलबार साँझ अस्पताल ल्याइए पनि राति फेरि थुनामा राखिएको र बुधबार बिहान समस्या गम्भीर भएपछि फेरि अस्पताल भर्ना गरिएको उनले बताइन्।

साह मूलत: बारा जिल्लाको कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुरकी हुन् भने हाल वीरगन्ज–१३ मुर्लीमा डेरा गरी बस्दै आएकी थिइन्।उनीमाथि मन्त्री यादव र मेयर सिंहलाई फोन मार्फत धम्की दिएको अभियोग छ।
उनका परिवारका सदस्य झाडापखालाले अस्पतालमा उपचाररत रहेको समयमा उनले खानेपानी वितरणमा अपनाउनु पर्ने प्रक्रिया नअपनाएको भन्दै आक्रोशित स्वरमा कुरा गर्ने क्रममा धम्की दिएको आरोप छ।मन्त्री यादवका पर्सनल असिस्टेन्ट हरिन्द्र यादवले उजुरी दिए पछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको हो।



















आफ्नो प्रतिकृया दिनुहोस्