२४ भदौ,काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
मंगलबार विहान एक सन्देश सार्वजनिक गर्दै पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनता समक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको अलोकतान्त्रिक कदम प्रति आपत्ति जनाउँदै देश र जनता समक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जनाएका छन् ।
राजीनामा पत्र जस्ताको त्यस्तै, आदरणीय नेपाली जनसमुदायहरू, नमस्कार, जय नेपाल !
म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गते बाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
मैले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको लोकतान्त्रिक ईतिहास प्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।
हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुक भित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रता माथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्था तर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु।
देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्ता सँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो र यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स(साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनता समक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनता समक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।
पटक पटक युवा पुस्ता र जनताले आन्दोलन गरिरहनु पर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनु पर्छ, लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रता भन्दा माथि केही हुँदैन। हामी भन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी नेता हौं’ भन्नेहरुमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
जय नेपाल १ २४ भाद्र २०८२ रामनाथ अधिकारी मन्त्री कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं



















आफ्नो प्रतिकृया दिनुहोस्