जनकपुरधाम : हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि शुरु हुने हिन्दूहरूको महान् पर्व बडादसैं आज देखि औपचारिक रूपमा प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमा सम्म लगातार १५ दिन सम्म हर्षोल्लासपूर्वक मनाइन्छ ।
बडा दसैंको पहिलो दिन घटस्थापना गर्ने परम्परा रहि आएको छ । यस दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी पूजा आरम्भ गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधि अनुसार शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजाआर्चना गर्ने चलन छ ।
आज बिहानै नित्यकर्म पूरा गरी नजिकैको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याई, गाईको गोबरले लिपपोत गरिएको स्थानमा राखी त्यसमा यव (जौ) रोपिन्छ, जसलाई जमरा राख्ने भनिन्छ । यवलाई देवी दुर्गाको प्रिय वस्तु मानिने भएकाले विजयादशमीका दिन टीका प्रसाद सँगै पहेँलो जमरा ग्रहण गर्ने परम्परा छ, जसलाई समृद्धिको प्रतीकका रूपमा लिइन्छ ।
यस दिन कलश (घडा) स्थापना गरी त्यसै घडा माथि देवी दुर्गाको पूजा गरिने भएकाले यसलाई घटस्थापना भनिन्छ । स्थापना गरिएको कलशको जलले विजया दशमीका दिन देवीको अभिषेक गरी प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ ।
यसै अवसरमा देशभरका विभिन्न शक्तिपीठहरूमा विशेष पूजा गरिनुका साथै जनकपुर स्थित राजदेवी मन्दिर, मुरली चौक र रामानन्द चौकमा समेत देवी दुर्गाको प्रतिमा स्थापना गरी भक्तजनहरूको दर्शनका लागि आकर्षक रूपमा सजाइएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्