काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका दिपेन्द्र बस्नेतले २२ दिनपछि घाइते परिचयपत्र प्राप्त गरेका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमार वर्देवाले माइतीघर स्थित अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर बस्नेत सहित अन्य घाइतेहरूलाई परिचयपत्र वितरण गरेका हुन् । बस्नेतको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले ग्रहण गरेकी थिइन् ।

भदौ २३ गते आन्दोलनको पहिलो दिन प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लाग्दै ढलेका २८ वर्षीय बस्नेत दैलेखको भगवतीमाई गाउँपालिका–१ निवासी हुन् । रोजगारीको सिलसिलामा काठमाडौंमा रहेका उनी टाउकोमा गोली लागेर गम्भीर घाइते भएका थिए ।
घटना पछि तत्कालै अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएका बस्नेतको हाल सोही अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा क्रमिक सुधार देखिएको परिवारजनले जनाएका छन् ।नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकालाई परिचयपत्र वितरण गर्ने निर्णयअनुसार पीडितहरूलाई क्रमशः सुविधा उपलब्ध गराउन थालिएको हो ।



















आफ्नो प्रतिकृया दिनुहोस्