काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाँडै नेपालमा संविधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन्। मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौँ केन्द्रित भई देशव्यापी आन्दोलनका लागि तयार रहन नागरिकलाई आह्वान गरेका छन्।
उनका अनुसार GEN-Z आन्दोलन समेत पश्चिमी शक्तिको डिजाइनमा भएको हो, त्यसैले अब २०४७ सालको संविधान पुन:स्थापना आवश्यक भइसकेको छ। उनले भने, “संवैधानिक राजसंस्था सहितको व्यवस्था आउन लागेकाले दियो बोकेर दीपावली गर्न तयार रहनु होस्।”
प्रसाईले गणतन्त्रको नाममा भएका राजनीतिक गतिविधिले देश संकट तर्फ धकेलिएको आरोप लगाउँदै पूर्व-राजाको शासनकाल सम्झन आग्रह गरे। उनले बालेन शाह, सुशिला कार्की र सुदन गुरुङ जस्ता नेताहरू मार्फत पश्चिमी शक्तिले नेपाललाई भ्रमित गरिरहेको दाबी गरे।
उनले थपे, “राजा, धर्म र संस्कृति अहिले पनि अपरिहार्य छन्। नेपाललाई बौद्ध, किराँत सहित वैदिक सनातन हिन्दू अधिराज्यको रुपमा पुन:स्थापित गर्नु छिमेकी मुलुक र नेपाली दुवैका लागि आवश्यक भइसकेको छ।”
प्रसाईले लघुवित्त पीडित, सहकारी पीडित, बैंकबाट कालोसूचीमा परेका र घरजग्गा लिलामीमा गुमाएका सम्पूर्ण अभियन्तालाई पनि काठमाडौँ केन्द्रित भई देशव्यापी आन्दोलनको तयारी गर्न आग्रह गरेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्