काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व-गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा आफूले कुनै पनि प्रकारको बल प्रयोग वा गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् ।
शुक्रबार सानेपा स्थित कांग्रेस पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले आन्दोलनका घटनाबारे विभिन्न भ्रम फैलाइएको दाबी गर्दै भने, “म वा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनलाई दमन गर्न गोली चलाउने वा बल प्रयोग गर्ने कुनै आदेश दिएका छैनौँ।”
उनले आन्दोलनमा भएको दु:खद घटना बाह्य घुसपैठका कारण भएको दाबी गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा जेनजी पुस्ताले अघि सारेका मागहरूलाई सम्बोधन गर्नु पर्ने आवश्यकता औंल्याए ।लेखकले सबै राजनीतिक दलले उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोध भन्दा माथि उठेर विधिको शासन बलियो बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।
आन्दोलनका घटना बारे छानबिन गर्न बनेको आयोगले संविधान र कानुन अनुसार निष्पक्ष काम गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।जेनजी आन्दोलन समाप्त भएको एक महिना पछि लेखकले सार्वजनिक रुपमा आफ्नो धारणा राखेका हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्