१ फागुन,रौतहट । रौतहटको सदरमुकाम गौर स्थित करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण कागजात र फर्निचरका सामग्रीहरू बाराको सिमरा लैजान खोजिए पछि शुक्रबार गौर बजार दिनभर तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा कार्यालयका सामानहरू ट्रकमा लोड गरी लैजान खोजिए पछि स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले कडा अवरोध सिर्जना गरेका थिए। स्थानीयको चर्को विरोध र अवरोधपछि लोड गरिएका सामानहरू पुन: कार्यालयमै फर्काउन प्रशासन बाध्य भएको छ।

यस सरकारी कदमको विरोधमा आक्रोशित व्यापारीहरूले शुक्रबार गौर बजार पूर्ण रूपमा बन्द गराएका छन्। प्रदर्शनकारीहरूले नगरको मुख्य घण्टाघर चोकमा टायर बालेर सडक अवरुद्ध गर्दै सरकारी निर्णय विरुद्ध चर्को नाराबाजी समेत गरेका छन्। रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले मुलुक निर्वाचनमा होमिएको र सबैको ध्यान त्यता मोडिएको मौका छोपेर प्रशासनले सुटुक्क सामान लैजान खोजेको आरोप लगाउनु भएको छ। यस अघि प्रमुख जिल्ला अधिकारीसँग भएको सहमति विपरीत कार्यालय सार्न लागिएको भन्दै उहाँले कडा आपत्ति जनाउनु भयो।
आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेकपा एमालेका नेता एवं उम्मेदवार अजयकुमार गुप्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीले गौरको कार्यालय अन्यत्र लैजाने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। जनताको पायक पर्ने स्थानबाट सेवा केन्द्र हटाउने प्रयास गरिए थप कडा प्रतिवाद गर्ने उहाँहरूको अडान छ। गौर करदाता सेवा कार्यालयलाई यथावत राख्नु पर्ने माग गर्दै स्थानीयले आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्, जसका कारण गौरको स्थिति अहिले पनि निकै संवेदनशील बनेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्