२९ फागुन,काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ को ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैत ५ र ६ गते काठमाडौंमा आयोजना हुने भएको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको उद्घाटन समारोह चैत ५ गते दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने जानकारी दिएको हो।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको महासंघले जनाएको छ।उद्घाटन अघि सोही दिन बिहान राजधानीको भृकुटीमण्डप बाट विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी, परम्परागत पोशाक, नाचगान तथा र्याली सहित भव्य नगर परिक्रमा निकालिनेछ।
नगर परिक्रमा भृकुटीमण्डप बाट सुरु भई भद्रकाली मन्दिर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल र घण्टाघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ।महाधिवेशनको मूल नारा ‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानका आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ तय गरिएको छ।

महाधिवेशनको बन्द सत्र चैत ६ गते काठमाडौं स्थित स्वयम्भू स्टार ब्याङ्केट मा आयोजना गरिने छ। बन्द सत्रमा महासंघका संघीय सचिवालयका पदाधिकारी, सल्लाहकार, संघीय परिषद सदस्य, जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषद्बाट ५०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने अपेक्षा गरिएको छ।
महाधिवेशन सफल बनाउन महासंघले विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्र बनाएको जनाएको छ। प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, आवास तथा भोजन, आर्थिक व्यवस्थापन, लजिस्टिक, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालन र अतिथि सत्कारलगायतका उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्।
वि.सं. २०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ देशभरका आदिवासी जनजाति समुदायको छाता संगठन हो। महासंघले आदिवासी जनजातिको सामूहिक अधिकार, प्राकृतिक स्रोतमा अग्राधिकार, पहिचान, भूमिअधिकार तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताइएको छ।
११औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पा ले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सबै सरोकारवाला तथा समुदायका सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्