२७ कात्तिक, जनकपुरधाम :मंसिर ४ गते हुन गइ रहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघि देखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्ला स्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसार पोसार नियन्त्रण लगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताउनु भयो । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारत तर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्द कुमार बर्माले गर्नु भएको थियो । नमूना मतदानमा १० प्रतिशत मत बदर आसन्न प्रनितिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन लाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिका–१४ मा गरिएको नमूना करिब १० प्रतिशत मत बदर भएको छ ।
मतदाता शिक्षा कार्यक्रम अन्तर्गत समग्र विकास सेवा केन्द्रले आयोजना गरेको नमूना मतदानमा खसेको ५५ मतमध्ये पाँचवटा मत बदर भएको समग्र विकास सेवा केन्द्रका सम्झना कुमारी राउतले जानकारी दिनु भयो । मतदाता लाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउँदै विगतमा हुने मत बदर सङ्ख्यामा न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सो वडाका मतदातालाई सही तरिकाले कसरी मतदान गर्ने, मतपत्रलाई कसरी पट्याउने लगायतका विषयमा सहजीकरण गरिएको राउतले बताउनु भयो । मतदातालाई समग्र विकास केन्द्रका सहजकर्ता सम्झना राउत, आरती यादव र आर्थी पासवानले घर–घरमा पुगी मतदातालाई निर्वाचन आयोगले तयार पारेको सामग्री फिपकार्ड, ब्रोसरको प्रयोग गरी मतदान गर्ने, मतपत्र पट्याउने लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो । (रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्