जनकपुरधाम, ३० कात्तिक : जयनगर–कुर्था रेल्वे मार्गमा बिहीबार देखि चार दिन रेल सेवा बन्द हुने भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबार देखि मङ्सिर ४ गते आइतबार सम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ ।

निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सिमानाका बन्द हुने भएकाले रेल सेवासमेत बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिनु भयो । मङ्सिर ५ गते सोमबार देखि रेल सेवा नियमित रुपमा सञ्चालन हुने उहाँले बताउनु भयो । जयनगर देखि महोत्तरीको बर्दिबास सम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर देखि कुर्था सम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ साल चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि मङ्सिर १ देखि ५ गते सम्म शान्ति सुरक्षा बाहेक सबै सेवा बन्द रहने जनाएको छ । धनुषाका सहायक प्र.जि.अ. अनुज भण्डारीले सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले शान्ति सुरक्षा बाहेक सबै सेवा बन्द गरिने जानकारी दिनु भयो ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्