काठमाडौँ : नेपाली कांग्रेस निकट विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। बुधबार नेविसंघ, अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै पार्टी सह-महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव माथि भएको सांघातिक हमलाले देशमा आम नागरिकको जिउ ज्यानको रक्षा गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्णरुपले असफल पुष्टि भएको भन्दै तत्काल राजिनामा दिन माग गरेका छन् ।
अध्यक्ष शेर्पाद्धारा विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल सरकारको पूर्वमन्त्री जस्तो व्यक्तिलाई दिन दहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ । यस घटनाको घोर भर्त्सना गर्दछौं ।’गृहमन्त्री मुलुकमा शान्ति सुरक्षा कायम गर्न पूर्ण रुपमा असफल भएको नेविसंघको आरोप छ ।
‘देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्णरुपले असफल भएको यस घटनाले पुष्टि गरेको छ। तसर्थ राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।नेविसघंले आक्रमणमा संलग्न अपराधी र जोडिएका पक्षबारे सूक्ष्म अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको माग गरेको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्