सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवामा महिला अधिकारका लागि सुरु गरिएको दबाब अभियान अन्तर्गत धर्ना निरन्तर जारी छ। जिल्लाका महिला अधिकारकर्मीहरूले दुई दिन देखि सहीदचोकमा धर्ना दिइरहेका छन्।
धर्नामा सहभागीहरूले “बहुविवाह सहदैनौं”, “नारी शोषण बन्द गर”, “महिलाको संवैधानिक अधिकार सुनिश्चित गर”, र “मेरो शरीर, मेरो अधिकार” जस्ता नारा लेखिएका पर्चा बोकेका थिए।

सरकारले बहुविवाहलाई प्रोत्साहन दिने गरी नयाँ कानून ल्याउने तयारी गरिरहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।महिला मानव अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाका अनुसार, महिलामाथि थप पीडा पार्ने गरी कानुन ल्याउने तयारी भए पछि देशव्यापी अभियानको भागस्वरूप सर्लाहीमा पनि धर्ना सुरु गरिएको हो।
यसअघि, एक दर्जन भन्दा बढी महिला अधिकारसम्बन्धी संघ–संस्थाले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले महिला माथि विभेद गर्ने खालको कुनै पनि कानुन नल्याउन चेतावनी दिएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्