मञ्च ठूलो छैन, साधन धेरै छैनन्; तर कलाकारको सपना ठूलो छ—गीत, संगीत, अभिनय र नृत्यमार्फत समाजसँग संवाद गर्ने एउटा प्रयास
४ असोज, भदौ शुक्ल नवमी,(आशिष कुमार मण्डल),जनकपुरधाम :जनकपुरधामको व्यस्त सडकमा अचानक संगीतको धुन गुञ्जिन्छ। हिँडिरहेका मानिसका पाइला केहीबेर रोकिन्छन्। भीडको बीचमा कलाकारहरू अभिनय र नृत्यसँगै कथा सुनाउन थाल्छन्। केही क्षणका लागि सडक आफ्नो नियमित गतिबाट बाहिर निस्कन्छ र खुला रंगमञ्चमा बदलिन्छ। यही परिवेशमा मिनाप जनकपुरले ‘आँजुरमे आकाश’ साँगीतिक सडक नाटक प्रस्तुत गरिरहेको छ।
यो प्रस्तुति मनोरञ्जनमा मात्र सीमित छैन। गीत, संगीत, अभिनय र नृत्य मार्फत सामाजिक सन्देश दर्शक माझ पुर्याउने यसको प्रयास हो। सभाहल भित्र तयार गरिएको दर्शक होइन, दैनिक जीवनकै क्रममा भेटिने मानिस यसको दर्शक बन्छन्। त्यसैले प्रत्येक प्रस्तुति कलाकारका लागि नयाँ अनुभव र नयाँ परीक्षा हुन्छ।
सडकको वातावरण कलाकारको नियन्त्रणमा हुँदैन। कहिले घाम र धुलो, कहिले सवारीसाधनको आवाज, कहिले भीडको चहलपहल ! यिनैबीच संवाद स्पष्ट सुनाउनु पर्ने हुन्छ। प्रकाश र ध्वनिको सीमितताले पनि अभिनयमा थप सजगता माग्छ। दर्शक कति समय रोकिन्छन् भन्ने निश्चित नहुँदा कथाको प्रभाव सुरु देखि नै स्थापित गर्नु पर्ने चुनौती हुन्छ।
तर सडकमा देखिने त्यो केही मिनेटको प्रस्तुति अचानक तयार भएको हुँदैन। त्यसअघि कलाकारले संवाद, अभिनय, नृत्य र संगीतको तालमेलका लागि लामो अभ्यास गरेका हुन्छन्। एउटै दृश्य पटक–पटक दोहोरिन्छ, कमजोरी सच्याइन्छ र समूहको तालमेल मिलाइन्छ। अभ्यासको थकान भन्दा प्रस्तुति सफल बनाउने जिम्मेवारी ठूलो हुन्छ।
यस यात्राको सबैभन्दा आत्मीय क्षण भने दर्शकको प्रतिक्रिया हो। प्रस्तुति हेरिरहेका मानिसको अनुहारमा देखिने भाव, कुनै संवादपछि आउने ताली वा कार्यक्रम सकिएपछि प्राप्त हुने छोटो प्रतिक्रिया कलाकारका लागि तत्काल प्राप्त हुने मूल्यांकन हो। आफूले बोलेको कुरा कसैको ध्यानमा बस्नु वा कुनै दृश्यले सोच्न बाध्य बनाउनु उनीहरूको कामको अर्थ सँग जोडिन्छ।
‘आँजुरमे आकाश’ मा यही प्रत्यक्ष संवादलाई केन्द्रमा राखिएको छ। सडकलाई माध्यम बनाएर कलाकारहरू सामाजिक विषयलाई मानिसहरूको दैनिक जीवन सम्म पुर्याउने प्रयास गरिरहेका छन्। यसमा कलाकार केवल पात्र प्रस्तुत गर्ने व्यक्ति होइन, कथाको माध्यमबाट दर्शकसँग प्रश्न र संवाद गर्ने व्यक्ति पनि हो।
नाटकको निर्देशन वरिष्ठ रंगकर्मी तथा पूर्व प्राज्ञ रमेश रञ्जन ले गरेका छन्। धीरज ठाकुर र सन्नी राउत को कोरियोग्राफी तथा सुनील प्रवेश को संगीत निर्देशनले प्रस्तुतिको संरचनालाई आकार दिएको छ। अभिनय, नृत्य र संगीत बीचको समन्वयले सडकमा प्रस्तुत हुने कथालाई दृश्य र श्रव्य दुवै रूपमा प्रभावकारी बनाउने प्रयास गरेको छ।
यस यात्रामा कलाकारले आफ्नो सीप मात्र प्रयोग गरिरहेका छैनन्, आफ्नो समय र व्यक्तिगत सहजतालाई पनि पछाडि राखिरहेका छन्। सडकमा प्रस्तुति दिनु भनेको अनिश्चित वातावरण स्वीकार गर्नु हो। कहिलेकाहीँ अपेक्षा अनुसार दर्शक नआउन सक्छन्, वातावरण अनुकूल नहुन सक्छ। त्यसका बाबजुद प्रस्तुति अघि बढाउनु पर्ने हुन्छ। यही व्यावहारिक चुनौती सडक रंगकर्मको अभिन्न हिस्सा हो।
‘आँजुरमे आकाश’ नामले पनि कलाकारको यात्रालाई एउटा प्रतीक दिन्छ। सानो आँजुरमा विशाल आकाश अट्दैन, तर आकाश तर्फ हात उठाउने आकांक्षा रोकिँदैन। रंगकर्ममा पनि साधनको सीमा भए पनि अभिव्यक्तिको सम्भावना खुला रहन्छ।
प्रस्तुति सकिएपछि सडक फेरि सामान्य हुन्छ। दर्शक आफ्नो बाटो लाग्छन् र कलाकार अर्को कार्यक्रमको तयारीमा फर्किन्छन्। उनीहरूको काम त्यही क्षण समाप्त भएजस्तो देखिए पनि त्यसपछि अर्को अभ्यास र अर्को प्रस्तुति सुरु हुन्छ।
यही निरन्तरतामा ‘आँजुरमे आकाश’ को वास्तविक कथा छ,सडकलाई मञ्च बनाएर कला र सामाजिक सन्देशलाई मानिससम्म पुर्याउने कलाकारहरूको यात्रा। सीमित साधनबीच पनि सिर्जनाको सम्भावना खोज्ने यो प्रयासले एउटा कुरा स्पष्ट पार्छ ! मञ्च ठूलो हुनु पर्दैन, कथा र त्यसलाई सुनाउने साहस ठूलो हुनु पर्छ।




















आफ्नो प्रतिकृया दिनुहोस्