३०जेठ,धनुषा : धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु. एक/एक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मंजु , जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।
मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश नं. २ सरकारले राहत स्वरूप प्रति परिवार रु. एक लाख दिने घोषणा सरकारका तर्फ बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले गर्नुभयो । मन्त्री यादव निर्वाचित धनुषाको क्षेत्र नं ३ भित्रै घटना भएको पालिका हो । प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षण पश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई शनिबार भेटेर समवेदना प्रकट गर्दै राहत रकमको घोषणा गर्नुभएको हो ।
त्यसैगरी क्षेत्र नं ३ कै संघीय सरकारमा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद तथा निर्वतमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री समेत रहनुभएका जुली महतोले गाउँमै पुगेर पीडित परिवारहरु सँग भेटघाट गर्दै व्यक्तिगत तर्फबाट पाँच परिवार लाई प्रतिपरिवार किरिया खर्च स्वरूप रु १० हजार सहयोग गर्नुभयो । महतोले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, “मैले यहाँका जनप्रतिनिधि, प्रहरी प्रशासनसहित प्रदेश सरकार सँग समेत क्षतिपूर्तिका लागि आग्रह गरेकी छु ।” यसअघि उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले विज्ञप्ति तथा समाजिक सञ्जाल मार्फत शोक सन्देश जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गर्नुभएको थियो । मृतक पाँचै जनाको शव परीक्षण पश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । गरिब विपन्न परिवारका बालिकाहरुको एकै ठाउँमा एकैपटक मृत्यु हुँदा अहिले गाउँ शोकमा डुबेको छ ।(रासस)
आफ्नो प्रतिकृया दिनुहोस्