दमौली, ८ असार : तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि निर्माण गरिएको घरमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ । कोरोना कहर र निषेधाज्ञाको बीचमा पनि आकर्षणस्थल बनेको यस ठाउँमा केही समयका लागि सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको हो । सर्वसाधारणको भीड बढेपछि प्रहरीले त्यहाँ पुगेका सर्वसाधारणलाई फिर्ता पठाएको छ ।
केही समयका लागि सर्वसाधारणको आगमन रोक्न प्रहरीले समितिलाई अनुरोध गरेको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जनकारी दिनुभयो । “दैनिक रुपमा सर्वसाधारणको आगमन बढेपछि केही समयका लागि बन्द गर्न प्रहरीबाट अनुरोध आएको छ, त्यहाँ थप केही काम पनि बाँकी रहेकाले दश/१५ दिन प्रवेश निषेध गरेका हौ,” उहाँले भन्नुभयो । हरियाली उद्यान सहित निर्माण गरिएको घरमा भर्यांग हाल्ने बाँकी छ । साथै उद्यानमा रेलिङको काम पनि बाँकी छ ।

रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रुखमाथि घर बनाईको छ । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।
डिभिजन वन कार्यालय तनहुँमार्फत् गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो । जिपीका चार कर्मचारीको करार सम्झौता रद्द पिसिआर परीक्षण गर्ने भनी सर्वसाधारणसँग रकम उठाएपछि निलम्बन परेका चार कर्मचारीको करार सम्झौता रद्द गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीसँगको करार सम्झौता रद्द गरेको हो । फार्मेसिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुङ्गाना, रेडियोग्राफर विधान तिमिल्सिना र कार्यालय सहयोगी मदन श्रेष्ठलाई असार ७ को निर्णय बमोजिम निलम्बन भएको मितिदेखि नै तलब लगायतका सुविधा नपाउने गरी करार सम्झौता रद्द गरिएको निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।(रासस)
आफ्नो प्रतिकृया दिनुहोस्