काठमाडौँ,२९ असार : पाँच मन्त्रालयको नेतृत्व समाल्नु भएका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजबाट बिदाइ हुनुभएको छ । उनलाई शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या , वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बिदाइ गरेको हो । मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा मन्त्रालय बाहेक चार मन्त्रालयमा करिब एक दर्जन भन्दा बढी महत्वपूर्ण काम गर्न सफल भएका छन् ।
बिदाइ समारोहमा उहाँले अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत उपहार स्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएका थिए । कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गरेका मन्त्री श्रेष्ठ त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याउन सफल भएका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताएका थिए । उनको कार्यकालमा तीन मुलुक बिचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएको थियो ।मन्त्री श्रेष्ठले गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
गत पुस १२ गतेबाट शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नु भएका मन्त्री श्रेष्ठले मन्त्रालय अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सहितका पदाधिकारी नियुक्त भएको थियो ।मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे मन्त्रालयका सचिव लगायत कर्मचारीको सहयोगले सम्भव भएको बताउनुभयो ।
“सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भाव भएन, जति काम सम्पन्न गरे, त्यसमा मलाई खुशी लागेको छ”, उहाँले भन्नुभयो, “पाँच वटा मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु ।”कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफूले १४६ दिनसम्म काम गर्ने मौका पाउँदा मन्त्री श्रेष्ठसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएको बताउनुभयो ।
तीनदिन अघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हाल्नु भएका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीको बारेमा आफूलाई जानकारी भएको बताउनुभयो । युवा मन्त्रालयका सचिव केदार न्यौपाने, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र शिक्षा मन्त्रालयका सचिवद्वय रामप्रसाद थपलिया र सुरेश आचार्यले बिदाइ भएर जान थाल्नु भएका मन्त्रीलाई आगामी यात्राको शुभकामना व्यक्त गर्नुभयो ।



















आफ्नो प्रतिकृया दिनुहोस्