२५ कात्तिक,घोराही : दाङको घोराही शहर देखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्ष देखि दाङ लगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न गे्रडर मेसिन चलाउँदै आउनु भएको छ । उहाँ डेढ वर्ष देखि घोराही उप-महानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत हुनु हुन्छ ।
अनिता पछिल्लो समय भने उप-महानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आउनु भएको छ । बाह्र कक्षा सम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उहाँ बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थाल्नु भएको हो । “मैले यतै आएर चलाउन सकेकी हुँ”, चालक अनिता बताउनु हुन्छ । “कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए”, उहाँले भन्नुभयो, “घरमा त्यसै बस्नु भन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।”
घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउनु हुन्थ्यो । उहाँसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरे पछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउनु हुन्छ । निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उहाँको भनाइ छ । करिब एक चलाउन सिके पछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने हुनुभयो । तर उहाँ सँग सवारी चालक अनुमति पत्र भने थिएन ।
यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिनु भयो । परीक्षमा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला हुनुहुन्थ्यो । “पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफल भए”, अनिता भन्नु हुन्छ । उहाँले त्यस पछि जागीरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माण सम्बन्धी काम गर्नु भयो । “ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो”, उहाँले भन्नु भयो, “विसं २०७६ भदौमा लाइसेन्स खुले पछि ट्रायल दिए ।
ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।” अन्य सवारी साधन भन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उहाँ बताउनु हुन्छ । “अन्य उपकरण भन्दा यो चलाउन निकै कठिन हुन्छ”, चालक अनिता भन्नु हुन्छ, “तर आफू भित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।” बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरु महिलालाई सल्लाह छ । निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ ।
“निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ”, अनिताले भन्नुभयो, “धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।” अनिता परिवारका चार सन्तान मध्ये एक्ली छोरी हुनु हुन्छ । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तिर्ण गर्नु भएकी उहाँले बाँकेको कोहलपुर स्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गर्नु भएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थाल्नु भयो । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उहाँ सम्झिनु हुन्छ । “अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ”, अनिताले भन्नुभयो । (रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्