काठमाडौँ, ७ पुस : प्रतिनिधि सभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने हुनु भएको छ । उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उहाँलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबार स्थित संसद् सचिवालयमा शपथ गराउनु हुनेछ ।
सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिनु भएको छ । यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित हुनु भयो । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा हुनु हुन्छ । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसक्नुभएको संसद् सचिवालयले जनाएको छ । (रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्