काठमाडौँ, ६ असार : छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मला देवी साह माइतीघरमा धर्ना बसेको छ दिन भयो । छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको दाबी सहित आमा निर्मलादेवी र बुबा विनोद प्रसाद लगायत शुक्रबार देखि माइतीघरमा न्याय माग्दै धर्नामा बसेका हुन् । दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी छोरीको हत्या गरेको निर्मला देवीको दाबी छ ।
आरोपित सबैलाई पक्राउ गरी कारबाही नगर्दा सम्म आफूले धर्ना जारी राख्ने निर्मला देवीको भनाइ छ । आर्थिक र राजनीतिक प्रभावका भरमा हत्यालाई आत्महत्याको रूप दिइएको उहाँको जिकिर छ । “छोरीलाई हत्या गर्ने घरका चार जनालाई पक्राउ नगर्दा सम्म धर्ना जारी रहन्छ”, निर्मला देवीले भन्नुभयो, “न्याय माग्न जाँदा उल्टै कुटपिट गर्ने प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतम माथि पनि कारबाही हुनुपर्छ ।” आरतीका श्रीमान्, सासूससुरा र देवरलाई पक्राउ गरी मुद्दा अगाडि बढाउनु पर्ने तथा स्वास्थ्यकर्मी, सरकारी वकिलमाथि छानबिन नगर्दासम्म धर्ना जारी राख्ने माइती पक्षको भनाइ छ ।
गत जेठ ७ गते २२ वर्षीया आरतीको मृत्यु भएको थियो । छोरीको आत्महत्या नभएको र छोरीको हत्या गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा न्याय नपाएपछि आफूहरू काठमाडौँ आएको उहाँहरूको भनाइ छ । छोरीको विवाह भएको छ महिना सम्म राम्रै घरजम भए पनि त्यसपछि दाइजो नल्याएको निहुँमा मानसिक यातना दिँदै आएको र मृत्यु हुनु भन्दा दुई/तीन हप्ता अघिसम्म मोटरसाइकल र दराज लिएर मात्रै घर आउन दबाब दिएको आमा निर्मला देवीको भनाइ छ ।
घामपानी सहेर छोरीको न्यायका लागि धर्नामा रहनु भएकी निर्मलादेवी छोरीले न्याय नपाएसम्म ज्यानको पर्वाह नगरी आन्दोलनमा उत्रिने बताउनु भयो । “मेरी छोरीको हत्या गरेको आधार हुँदाहुँदै पनि न्याय किन नपाउने ? धनुषामा न्याय नपाएर काठमाडौँ आएको हो । छोरीका लागि ज्यान दिन तयार छु । न्याय चाहिन्छ”, उहाँले भन्नुभयो । न्यायकै लागि प्रहरी प्रशासन जाँदा आफ्नो परिवारलाई गरेको गम्भीर कुटाइ र अभद्र व्यवहार प्रति दुःखेसो पोख्दै आफन्तजन लगायत छोरीलाई प्रादेशिक अस्पतालमा भर्ना गर्नुप रेको उहाँले बताउनु भयो ।
आरतीका बुबा विनोद प्रसाद साहले लगनशील छोरी भएकै कारण धनाढ्य परिवारबाट दाइजो नचाहिने भनी छोरी माग्न आएको तर दुई वर्ष नबित्दै दाइजो नल्याएकै कारणले छोरीको हत्या गरेकामा उहाँले गुनासो गर्नु भयो । “इन्गेजमेन्ट हुनुपूर्व दाइजोको माग थिएन । तर पछि माग गर्दै गएकामा परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण माग गरेका सबै दाइजो दिन सक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो । रु २५/३० लाख ऋणमा सम्पन्न गरिएको विवाहमा पछि केटापक्षले माग गर्दै गएका दाइजो दिन नसकेको उहाँले बताउनु भयो ।
“पछिल्लो समयमा माग गरेका सामान मध्ये दराज आफू खुसी लैजान दिएको तर मोटरसाइकल दिन सकिएन । त्यही निहुँमा माइतबाट घर गएको १२ दिनपछि हत्या गरियो”, आरतीका बुबाले भन्नुभयो । राजनीतिक दबाबका कारण अहिले सम्म न्याय नपाएको आरतीका मामा सन्तोष कुमार साहको भनाइ छ । “अस्पतालमा ल्याउँदा मृत्यु भइसकेको र शरीरका घाउ हेर्दा कुटपिट गरी हत्या गरेको पुष्टि हुन्छ”, उहाँले भन्नुभयो । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै उहाँले पछि दबाब दिएपछि बल्ल तल्ल जिल्ला प्रहरी कार्यालय धनुषामा जेठ ८ मा दर्ता भएको बताउनु भयो ।
उहाँले प्रहरीले हाल सम्म अनुसन्धान अघि बढाएको आरोप लगाउनु भयो । “हत्यारालाई ढाकछोप गर्ने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयमा न्याय माग्न जाँदा गम्भीर कुटपिट सहित हामीमाथि अभद्र व्यवहार गरियो”, उहाँले भन्नुभयो । उहाँले यस विषयमा गृहमन्त्रालय, मधेसी आयोग, मानवअधिकार आयोग लगायतका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइ सकिएको समेत बताउनुभयो । (रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्