२८ भाद्र,काठमाडौं: कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.दीपक कुमार खरालले मन्त्रालयमा भएको बजेट पर्याप्त नभएको बताएका छन् ।शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा उनले मन्त्रालयमा आएको ५० अर्ब बजेटको ५६ प्रतिशत मलमा नै खर्च हुने भन्दै अन्य विकासका कामका लागि बजेट नपुग्ने बताए ।
उनले भने, ‘यो आर्थिक वर्षमा नेपाल सरकार बाट समग्र कृषि क्षेत्रको विकासका लागि सवा ५० अर्ब जतिको बजेट विनियोजन भएको छ । त्यस मध्ये करिब २८ अर्ब अर्थात ५६ प्रतिशत बजेट मन्त्रालयको रसायनिक मल खरिदमा मात्र खर्च गर्नु पर्ने हुन्छ । बाँकी २२ अर्ब रुपैयाँ आधा बजेट देश भरी छरिएर रहेका कार्यालय हरुका जनशक्तिहरु को बजेट, तलब, भत्ता, यात्रा, भ्रमण, अनुगमन, सवारी साधन लगायत प्रशासनिक कुरामा खर्च गर्नु पर्छ । वास्तविक विकास मूलक काम गर्ने भनेर तोकिएको बजेट १२ वा १३ अर्ब मात्र हुन जान्छ । यो पर्याप्त होइन ।’
उनले अन्य विकासका कामहरु बजेटको कारणले पनि गर्न नसक्ने अवस्था भएको भन्दै यसलाई वृद्धि गर्न सबैको ध्यान जानुपर्ने बताए ।यसको साथै, देशभर नै संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना पनि संगठन र जनशक्तिको अभावको कारणले प्रभावकारी नभएको बताए ।
उनले भने, ‘देश भर नै संचालन भएको आयोजना भनेको प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना हो । यो मार्फत देश भर नै सेवा प्रदान गर्न खोजेका छौ । हाम्रो संगठन र जनशक्तिको अभावको कारणले सेवा पुर्याउन सकेको अवस्था छैन् । यसको लागि तीन अर्ब रुपैयाँ विनियोजन भएको छ ।’
यस्तै, उनले अब आउने हिउँदे बालीका लागि पुग्ने गरी मलको खरिद प्रक्रिया अगाडि बढाएको भन्दै बाली र पशु बिमाको लागि पनि मन्त्रालयले २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
समितिमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नु पर्ने कार्यक्रम तथा योजना, कार्य सम्पादनमा रहेका समस्या तथा बजेट लगायतका विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषयका सम्बन्धमा छलफल भएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्