३ चैत्र, काठमाडौं: प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टर नियुक्तिमा भएको भेदभावप्रति आपत्ति जनाएका छन्। उनले मेरिट लिस्टमा पहिलो स्थानमा रहेका प्रमोद यादव लाई नियुक्ति नदिइएको र तेस्रो स्थानमा रहेका उम्मेदवार लाई नियुक्त गरिएको भन्दै सरकारको निर्णयको आलोचना गरे।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रमोद यादव मधेशी भएकै कारण विभेदमा परेको आरोप लगाए। “सिभिल अस्पतालको डाइरेक्टर नियुक्तिमा मेरिट लिस्टमा पहिलो नम्बरमा प्रमोद यादव थिए, तर तेस्रो स्थानको व्यक्ति लाई नियुक्त गरियो। मधेशी, जनजाति, दलित, महिला यो देशमा भिख माग्न बसेका हुन् त ? सरकारले के बुझेको छ ?” उनले प्रश्न गरे।
पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने कानुनको विरोध
सांसद सिंहले पदमा रहँदा मात्र होइन, रिटायर्ड भए पछि पनि पूर्व-विशिष्टहरूले जनता लुट्ने अवस्थाको अन्त्य हुनु पर्ने बताए। सरकारले पूर्व-विशिष्टहरू लाई आजीवन सुविधा दिने कानुन ड्राफ्ट गरिरहेको भन्दै उनले कडा आपत्ति जनाए।
“पदमा हुँदा लुट्ने, ठूला–ठूला भ्रष्टाचार गर्ने, एनसेल देखि वाइडबडी काण्ड गर्ने, अनि रिटायर्ड भए पछि पनि जनताको ढाड सेक्ने ? यो कुनै हालतमा मिल्दैन। जनता ऋणको भारी बोक्ने, तर पूर्व-विशिष्टहरूले सधैं विशेष सुविधा लिने ? अब यो लुट बन्द हुनु पर्छ,” उनले भने।
आफ्नो प्रतिकृया दिनुहोस्