(प्रमिला कार्की),१३ जेठ,काठमाडौं: अन्तर्राष्ट्रिय स्तरमा परिचित कथा वाचिका देवी प्रतिभाले नेपालका धार्मिक स्थलहरूको समुचित प्रचार–प्रसार गर्न कोटिहोम जस्ता धार्मिक कार्यक्रमहरू सातवटै प्रदेशमा सञ्चालन गर्नु आवश्यक रहेको बताएकी छिन्।
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गरिरहेकी प्रतिभाले कुराकानीमा भनिन्, “नेपालका धार्मिक र पर्यटकीय स्थलहरू विश्व सामु चिनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्छ। पोखरामा कोटिहोम आयोजना गरिएको कारण यहाँका मठ–मन्दिर र पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार भएको छ। यदि यस्तै कोटिहोम सबै प्रदेशमा गरियो भने धार्मिक पर्यटनले तीव्र गति लिन्छ।”
पोखराको कोटिहोमलाई उनले ‘नेपालीहरूका लागि विशाल उत्सव’ भन्दै यसमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन्।“यहाँ धेरै भक्तजनको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको छ। महिनौँ देखि जारी कोटिहोममा सहभागी हुन पाउँदा मलाई पनि अत्यन्तै आनन्द लागेको छ,” उनले भनिन्।
प्रसिद्ध कथा वाचिका प्रतिभाले पहिलो पटक पशुपति कोटिहोममा सहभागिता जनाउँदा नयाँ अनुभव पाएको र अहिले भने भक्तजनबाट अपार माया पाएको बताइन्।
“पहिलो पटक पशुपति कोटिहोममा गएका बेला म नयाँ थिएँ। चिन्ने र चिनाउने अवसर त्यहीँबाट सुरु भयो। तर अहिले त सबैले चिन्छन्। पोखरामा माया गरेर रोकि रहनु भएको छ, फर्किँदा त भक्तजनहरू रुनु हुन्छ। यो मायाका लागि म सधैँ आभारी छु।”
उनले भागवत कथा मार्फत भक्ति, ज्ञान र वैराग्य प्राप्त गर्न सकिने उल्लेख गर्दै भनिन्, “भागवत एउटा यस्तो ग्रन्थ हो, जसले जीवन लाई कसरी जिउने र कसरी मर्नु पर्ने भन्ने शिक्षा दिन्छ। यसले मानिसमा आध्यात्मिक चेतना र जीवन प्रतिको दृष्टिकोण परिवर्तन गर्न मद्दत गर्छ।”
त्यस्तै, महिलाको हैसियतले कथा वाचनमा कुनै रोकतोक नहुने भन्दै उनले स्पष्ट पारिन्, “महिला भएकै कारण भगवानको नाम लिन वा प्रचार गर्न नपाइने भन्ने गलत हो। केवल मासिक धर्मको समयमा व्यास पीठमा बस्न हुँदैन, बाँकी सबै समय महिलाले पनि पूर्ण रूपले कथा वाचन गर्न सक्छन्।”
अन्तमा, उनले धार्मिक चेतना र आध्यात्मिक उन्नतिको लागि कोटिहोममा सहभागी भई कथा श्रवण गर्न सबै भक्तजनहरूमा अपिल समेत गरिन्।



















आफ्नो प्रतिकृया दिनुहोस्