१४ जेठ,पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा विशेष वक्ताका रूपमा मन्तव्य दिँदै ओजस्वी आचार्यले सनातन धर्म, संस्कार र समाजको वर्तमान अवस्था प्रति गहिरो चिन्ता व्यक्त गरिन्।
आचार्यले हिन्दू धर्मलाई विश्वकै सबैभन्दा पुरानो, वैज्ञानिक र मार्गदर्शक धर्मको रूपमा व्याख्या गर्दै भनिन्, “हिन्दू धर्मले केवल आध्यात्मिक मार्ग देखाउने होइन, वैज्ञानिक अनुसन्धान र मानव चेतनाको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ।”
उनका अनुसार, बौद्ध, जैन र सिक्ख धर्महरू समेत सनातन संस्कृतिको उपज हुन्, जसले मानवलाई क्रोध, हिंसा, घमण्ड र दमनबाट मुक्त गर्ने मार्ग प्रदान गरेका छन्।
समाजको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, “आजको समाज वैज्ञानिकताको नाममा संस्कार विहीन बन्दै गएको छ। पूँजीको चक्रव्यूहमा फसेर मानिसले परिवार, समाज, र राष्ट्र प्रति कर्तव्य बिर्सन थालेका छन्। ‘मै खाउँ, मै लाउँ’ भन्ने प्रवृत्तिले सामाजिक मूल्यलाई खतरामा पारिरहेको छ।”
वृद्ध अभिभावकलाई वृद्धाश्रममा छाड्ने प्रवृत्ति प्रति उनले गम्भीर आपत्ति जनाउँदै भनिन्, “जसलाई आमा-बाबुको महत्व थाहा छैन, ती केवल शरीरले मात्र मानव हुन्, आत्माले होइन। आमा सृष्टिको प्रतीक हुन्, बुवा जीवनको सुरुवातको सौन्दर्य। तिनैलाई एक्लो पारेर सुखको खोजी गर्नु अमानवीय हो।”
१८ वर्ष पछिको स्वतन्त्रतालाई कर्तव्यविहीन बनाउनु संस्कार नभएको बताउँदै उनले दम्भ र क्रोधमा आधारित जीवनलाई सनातन शिक्षाको विपरित बताए।
उनले चेतावनी दिइन्, “यदि हामीले सनातन संस्कार र संस्कृति बिर्सियौं भने हाम्रो अस्तित्व नै संकटमा पर्छ। यो केवल धर्मको संरक्षण होइन, सम्पूर्ण सभ्यताको रक्षा गर्ने लडाइँ हो। आज हामीले आफ्नो जरा, मूल्य र पहिचान सम्झिनु पर्ने समय हो, नत्र आधुनिकतामा हराएका केवल स्मृतिहरू बनिने छौं।”
समापनमा, ओजस्वी आचार्यले सम्पूर्ण नेपाली जनतालाई आफ्नो संस्कार, संस्कृति र मूल्यप्रति सजग रहन आह्वान गरिन्।



















आफ्नो प्रतिकृया दिनुहोस्