१३ असार,रौतहट । ऐतिहासिक, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको प्रतीकको रुपमा रहेको वीरगंज को गहवामाईको रथयात्रा सम्पन्न भएको छ । गहवामाई मन्दिर पुनर्निर्माणको १६ औँ वार्षिकोत्सवको अवसरमा तेस्रो रथयात्रा गरिएको हो ।
विगतका बर्ष झैं यस बर्ष पनि रथ यात्रालाई निरन्तरता दिइएको आयोजक श्री गहवामाई तीर्थ क्षेत्र विकास समिति द्वारा गठित रथयात्रा धार्मिक समन्वय समितिले जनाएको छ ।
समितिका अध्यक्ष श्याम कुमार पोखरेलका अनुसार रथयात्रा मन्दिरबाट निस्केर घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक हुँदै वीरगंजको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुन: गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो ।

रथ यात्रा सँगै छपन्न भोग, भजन–कीर्तन, महाप्रसाद र भव्य भन्डारा कार्यक्रम हुने उनले बताए । शुक्रबार ७ बजे बेलुकी ५६ भोग प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ भने शनिवार बिहान ६ बजे देखि महाप्रसाद वितरण र साँझ ४ बजे देखि भन्डाराको कार्यक्रम रहेको उनले जानकारी दिए ।
रथयात्रा भने निर्धारित समय भन्दा केही ढिलोगरी निस्केको भए पनि बाक्लो सुरक्षा व्यवस्थाका कारण अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिको दाबी छ ।

भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा सहित नेपालको बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनिय सहभागिता रहेको समितिले जनाएको छ ।
रथ यात्राको अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा आज सार्वजनिक बिदा घोषणा गरेको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्